हेटौंडा। फागुन २१ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फको मतपरिणाम भने सार्वजनिक भइसकेको छ ।
समग्रमा यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २ तिहाई नजिक पुगेको छ । प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकमा पनि अग्रस्थानमा छ । समानुपातिकमा रास्वपाले हालसम्म ५० लाख ४० हजार, करिब ४८ प्रतिशत मत प्राप्त गर्दा नेपाली कांग्रेसले १७ लाख ७ हजार, करिब १६ प्रतिशत मत ल्याएको छ ।
नेकपा एमाले तेस्रो स्थानमा छ । उसले १४ लाख २४ हजार, करिब १३ प्रतिशत मत प्राप्त गरेको छ । यस्तै, नेपाली कम्युनिस्ट पार्टीले ७ लाख ७६ हजार करिब ७ प्रतिशत, श्रम संस्कृति पार्टीले ३ लाख ६५ हजार करिब ३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २६ हजार करिब ३ प्रतिशत मत प्राप्त गरेको छ । यसपटकको निर्वाचनमा ६ दलले थ्रेसहोल्ड कटाए ।
समानुपातिकतर्फ रास्वपा ६ प्रदेशमा पहिलो दल बनेको छ । रास्वपा कर्णालीमा मात्र दोस्रो स्थानमा रहेको छ । नेपाली कांग्रेस कर्णालीमा पहिलो दल बन्दा अन्य सबैमा दोस्रोमा रहेको छ, तर मत पहिलो स्थानको रास्वपाभन्दा निकै कम छ । नेकपा एमाले सबै प्रदेशमा तेस्रो स्थानमा रहेको छ । नेपाली कम्युनिस्ट पार्टी कोशी र मधेशमा पाँचौ स्थानमा रहँदा अन्य प्रदेशमा चौथो स्थानमा छ ।
कोशीमा चौथो स्थानमा रहेको श्रम सस्कृति पार्टी मधेशमा ११ औँ स्थानमा रहँदा बागमतीमा ७ औँ, गण्डकीमा छैटौँ, लुम्बिनीमा छैटौँ, कर्णालीमा ९ औँ र सुदूरपश्चिममा सातौँ नम्बरमा छ । राप्रपा कर्णाली, सुदूरपश्चिम, लुम्बिनीमा ५ औँ बन्दा कोशीमा छैटौँ, मधेशमा ७ औँ बागमतीमा छैटौँ स्थानमा रहेको छ ।


















