हेटौंडा । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न क्षेत्रमा तीव्र गतिमा हावाहुरी चल्ने सम्भावनाको पूर्वानुमान गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार बुधबार (१६ गते) अपराह्नदेखि सुरु भई बिहीबार बिहानसम्म देशका धेरै भूभागमा हावाहुरीको प्रभाव देखिन सक्नेछ। विशेष गरी सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, डडेल्धुरा, डोटी आसपासका जिल्ला, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ, अर्घाखाँची, परासी क्षेत्र, गण्डकी र बागमती प्रदेशका नवलपुर र चितवन आसपास, मधेश प्रदेशका बारा, पर्सा, धनुषा तथा कोशी प्रदेशका झापा र मोरङ लगायतका जिल्लामा हावाहुरीको जोखिम बढी रहने जनाइएको छ।
महाशाखाले हावाहुरी सुरु हुने सम्भावित समय बुधबार अपराह्न ४ बजेपछि रहेको र बिहीबार बिहान ६:४५ बजेसम्म यसको प्रभाव रहने अनुमान गरेको छ। यस्तै, मेघगर्जन, चट्याङ, असिना र वर्षासहितको मौसम प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्ने क्रममा देशका धेरै स्थानमा यसको प्रभाव पर्न सक्ने चेतावनी दिइएको छ।
विभागले यस्तो अवस्थाले जनजीवन, यातायात, कृषि तथा दैनिक क्रियाकलापमा असर पार्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।


















