हेटौंडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या उल्लेख्य रूपमा घटाउने निर्णय गरेको छ। प्रदेश सरकारको मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा कायम रहेको १४ मन्त्रालयलाई घटाएर ८ वटा कायम गर्न निर्णय गरेको हो ।
सरकारका प्रवक्ता प्रभात तामाङका अनुसार मन्त्रालय संख्या घटाउने निर्णय आगामी साउन १ गतेदेखि कार्यान्वयनमा आउनेछ।
उनका अनुसार प्रदेशमा अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय कायम रहने छन् ।
प्रदेशको प्रशासनिक संरचना सुदृढ र मितव्ययी बनाउने उद्देश्यले गठित उच्चस्तरीय अध्ययन समितिले मन्त्रालय संख्या घटाउन सिफारिस गरेको थियो। सोही सिफारिसलाई आधार मानेर सरकारले पुनर्संरचना अघि बढाएको हो।


















