हेटौंडा |करिब डेढ महिना अघिदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगमा बिहीबारबाट पुनः उत्पादन सुरु गरिएको छ । सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योग उत्पादनको लागि आगो बाल्ने भट्टिमा प्रयोग हुने क्लिङ्करमा समस्या देखिएपछि करिब ६ हप्ताअघिदेखि बन्द रहेको थियो ।
उद्योग व्यवस्थापनले बाहिरबाट विभिन्न उपकरणहरु ल्याएर जडान तथा मर्मत सम्हार गरी आजबाट उत्पादन कार्य पुनः सुरु गरिएको उद्योगका नायब महाप्रबन्धक एवम् प्रवक्ता नवीनकुमार कर्णले जानकारी दिए ।
उक्त सिमेन्ट उद्योग पछिल्लो समय पटक–पटक प्राविधिक समस्या आएकोले उत्पादन बन्द गर्नुपर्ने बाध्यताले गर्दा संचालन गर्न कठिनाई भोग्नु परेको महाप्रवन्धक कर्णले बताए ।
सिमेन्ट उद्योगको उत्पादन बन्द रहेको भएपनि भण्डारणमा रहेको सिमेन्टको प्याकिङ र प्याकिङ गरिएको सिमेन्टहरु नेपालका विभिन्न शहरहरुमा बिक्रीवितरण गर्ने कार्य भने नियमित रुपमा भइरहेको उनले बताए । साथै, अहिले उद्योगमा पर्याप्त चुन ढुंगा र कोइला आपूर्ति भइरहेको उनको भनाई छ ।
उनले उक्त कठिनाईलाई समाधान गर्न र उद्योगलाई नयाँ प्रविधिबाट दीर्घकालिन रुपमा क्षमता अनुसार उत्पादन वृद्धि गर्न उद्योग व्यवस्थापनले अब प्रधानमन्त्री र उद्योग वाण्ज्यि मन्त्रीलाई ध्यानाकर्षण गराई सरकारको तर्फबाट आर्थिक रकम उपलब्ध गराई पाउभनि वार्ता भइरहेको उल्लेख गरे ।






















