हेटौंडा | हेटौंडामा सोमबार सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित सडक किनारमा ट्रकले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
मृत्यु हुनेमा हेटौंडा–१० बस्ने ६३ वर्षीय लालबहादुर घिसिङ रहेका छन् । दुर्घटनामा घाइते भएका घिसिङको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
उनका अनुसार, सोमबार साँझ ७ः५० बजेको समयमा हेटौंडा–१० जिल्ला प्रहरी कार्यालय मकवानपुरको मोडमा हेटौंडा शिवम् सिमेन्टबाट थानाभर्याङतर्फ जाँदै गरेको ना ६ ख ८८९० नंम्बरको ट्रकले बाटो क्रस गर्दै गरेको उनलाई ठक्कर दिएको थियो ।
प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
यस्तै, बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ स्थित चुरियामाई मन्दिर नजिक पूर्व–पश्चिम सडकखण्डमा सोमबार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परेर हेटौंडा–१५ बस्ने ३५ वर्षीय शंकर तामाङको मृ्त्यु भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
सोमबार साँझ ४ः १० बजेको समयमा हेटौंडाबाट वीरगञ्जतर्फ जाँदै गरेको प्र.२–०३–०१२ प ८८५० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकको बाँया साईडबाट ३० फिट तल खसेर दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा हेटौंडा सहकारी अस्पतालमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
दुबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।






















