हेटौंडा। आर्थिक वर्ष २०८२/८३ आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष सुरु हुने व्यवस्था छ । सोहीअनुसार नयाँ आर्थिक वर्ष सुरु भएको हो ।
सरकारले वि.सं. २०१८ सालदेखि आर्थिक वर्षको सुरुवात साउन महिनामा सुरु भई असार महिनामा सकिने व्यवस्था गर्दै आएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा राजस्व संकलन १ खर्ब २० अर्ब रुपैयाँले वृद्धि भएको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत वर्ष भन्दा यस वर्ष ११.३३ प्रतिशतले राजस्व संकलन वृद्धि भएको हो ।
गत आर्थिक वर्ष २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलन भएको छ । त्यसअघि आव २०८०/०८१ मा १० खर्ब ५८ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो ।
सरकारले आव २०८१/०८२ मा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको भएपनि वार्षिक समीक्षामा संशोधन गरी १२ खर्ब ८६ अर्ब रुपैयाँको लक्ष्य तय गरिएको थियो । संशोधित लक्ष्य अनुसार ९१.६० प्रतिशत राजस्व संकलन भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्रीले प्राकृतिक विपद, अन्तर्राष्ट्रिय परिस्थितिले गर्दा चुनौतीहरु हुँदा–हुँदै पनि अघिल्लो आवको तुलनामा उत्साहजनक रुपमा राजस्व संकलन भएको बताए । ‘तयारी थालिसकेका छौं । चालू आवमा राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी अघि बढ्ने छौं,’ उनको भनाइ छ ।
चालू आवमा १३ खर्ब १५ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य छ । आव २०७१/०७२ मा ४ खर्ब ५ अर्ब, २०७२/०७३ मा ४ खर्ब ८१ अर्ब, २०७३/०७४ मा ६ खर्ब ९ अर्ब, २०७४/०७५ मा ७ खर्ब २६ अर्ब, २०७५/०७६ मा ८ खर्ब २९ अर्ब रुपैयाा राजस्व संकलन भएको थियो ।
त्यसैगरी २०७६/०७७ मा ७ खर्ब ९३ अर्ब, २०७७/०७८ मा ९ खर्ब ३५ अर्ब, २०७८/०७९ मा १० खर्ब ६६ अर्ब, २०७९/०८० मा ९ खर्ब ५७ अर्ब र २०८०/०८१ मा १० खर्ब ५८ अर्ब रुपैयाँ संकलन भएको थियो ।


















