हेटौंडा। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित प्रतापपुरमा निर्माणाधीन घरमा काम गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका–६ कोलाघारी निवासी अन्दाजी ३९ वर्षीय मङ्गल बहादुर प्रजा रहेका छन् ।
उनी सोही वडाको प्रतापपुर निवासी सुरेश मोक्तानको निर्माणाधीन नयाँ घरमा ढोका जडान गरी ड्रिल गर्ने क्रममा उनलाई एक्कासी करेन्ट लागेको मकवानपुर प्रहरीले जनाएको छ । गम्भीर अवस्थामा रहेका प्रजालाई उनकी श्रीमती रस्ती माया प्रजाले तत्काल उपचारका लागि मनहरी अस्पताल पुर्याएकी थिइन्। मनहरी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि हेटौंडा अस्पताल रिफर गरिएको थियो।
हेटौंडा अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
मृतकको शव हेटौंडा अस्पतालमै राखिएको छ। घटनाबारे थप अनुसन्धानका लागि प्रहरी चौकी सुनाचुरीबाट प्रहरी टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। घटनास्थल प्रहरी चौकी सुनाचुरीबाट करिब ५–६ किलोमिटर उत्तरतर्फ रहेको छ।


















