करेन्ट लागेर क्रसर उद्योगका एक जना कामदारको मृत्यु भएको छ । मोरङको केराबारी गाउँपालिका–८ आमजुँगीमा करेन्ट लागेर क्रसरका कामदारको मृत्यु भएको हो। करेन्ट लागेर महादेव क्रसरका कामदार गोरखाको गण्डकी गाउँपालिका घर भएका ३५ वर्षीय मंगल चेपाङको मृत्यु भएको प्रहरीले जानकारी दिए।
क्रसरभित्रै ‘वेल्डिङ’ गर्ने क्रममा चेपाङलाई सोमबार राति १० बजेतिर अचानक करेन्ट लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । गम्भीर घाइते भएका उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । प्रतिष्ठान पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाका बारेमा मृतकका परिवारलाई जानकारी गराइएको छ भने शव प्रतिष्ठानमै राखिएको छ । चेपाङ उक्त क्रसरमा विगत २ महिनादेखि मिस्त्रीका रूपमा कार्यरत रहेको पाइएको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान अघि बढाएको जानकारी दिए ।


















