राजनीति व्यापार होइन, सेवा र धर्म हो भन्ने कुरा स्थापित गर्छु : मुख्यमन्त्री बानियाँ

हेटौंडा टुडे
२०८२ श्रावण २१, बुधबार १२:२२ गते

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजनीतिलाई सेवा र धर्मको रूपमा स्थापित गर्ने बताएका छन् ।

बुधबार बिहान नेपाली कांग्रेस बागमती प्रदेश समितिले आयोजना गरेको स्वागत तथा बधाई ज्ञापन कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले उत्तरदायी, जिम्मेवार र पारदर्शी भई निष्पक्षताका साथ जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गरे । जनतालाई न्याय, शान्ति र विकास दिन आफू र आफ्नो मन्त्रिमण्डल प्रतिबद्ध रहेको उनले बताए ।

‘राजनीति सेवा र धर्म हो । राजनीति व्यापार हैन,’ उनले भने, ‘व्यापारमा नाफा र नोक्सान हेरिन्छ । राजनीतिले न्याय दिनुपर्छ । र, हामी जनतालाई न्याय, शान्ति र विकास दिनका लागि राजनीति लागेका हौं ।’ उनले जनताको सेवा र गरिब, निमुखा नागरिकहरूको पक्षमा काम गर्ने प्रतिबद्धता जनाए । ‘मैले यो बाटोमा एक दिन पनि अलमलिनु छैन, सदैव सत्य र न्यायका लागि उत्तरदायी र जिम्मेवार भएर काम गर्नेछु,’ उनले प्रतिबद्धता व्यक्त गरे ।

आफूले मुख्यमन्त्री हुँदा प्राप्त गर्ने तलब भत्ताबाट आफ्नो निर्वाचन क्षेत्रका गरिब र विपन्न परिवारका घर निर्माण गरिदिने पनि बानियाँले घोषणा गरे । मकवानपुर क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित बानियाँले विपन्न र असहाय नागरिकको पहिचान गरी आफ्नो तलब भत्ताको रकमले घर बनाउने प्रतिविद्धतासमेत व्यक्त गरे । उनले प्रदेश सरकार यहाँका नागरिकप्रती उत्तरदायी, जिम्मेवार र पारदर्शी भएर परिणाम दिनेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा कांग्रेसका तर्फबाट सरकारमा सहभागी खानेपानी, उर्जा तथा सिंचाई मन्त्री कृष्णकुमार तामाङ र विना विभागी मन्त्री शिवराज अधिकारी लगाएतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*