कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा बादे, सदस्य सचिवमा महर्जन नियुक्त

हेटौंडा टुडे
२०८२ श्रावण २३, शुक्रबार १४:०९ गते

हेटौंडा। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा कञ्चनचन्द्र बादे नियुक्त भएका छन् । संसदीय दलको सदस्य सचिवमा मिनकृष्ण महर्जन पनि नियुक्त भएका छन् ।

कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज शुक्रबार काभ्रेका प्रदेशसभा सदस्य बादेलाई प्रमुख सचेतक र ललितपुरका प्रदेशसभा सदस्य तथा पूर्वखेलकुदमन्त्री महर्जनलाई सदस्य सचिव नियुक्त गरेका हुन ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको विधानको दफा ११ को उपदफा १ बमोजिम सांसद बादेलाई मुख्य सचेतकको जिम्मेवारी प्रदान गरिएको हो । गत साउन १३ मा तत्कालीन दल नेता बहादुर सिंह लामा विरुद्ध अविश्वास प्रस्ताव पारित भएपछि साउन १४ मा पुनः दल नेता चयनका लागि निर्वाचन भएको थियो । उक्त निर्वाचनमा बानियाँले २२ मत र लामाले १४ मत प्राप्त गरेका थिए । ३७ सांसद रहेको कांग्रेसको ५१ प्रतिशत भन्दा बढी सांसदको समर्थनमा बानियाँ दल नेता बनेपछि संसदीय दलको पुनः गठन बाँकी रहेको थियो ।

संसदीय दलको रिक्त रहेका मुख्य सचेतक पदमा मुख्यमन्त्री बानियाँले सांसद बादेलाई नियुक्त गरेका हुन् । बादे काभ्रेको निर्वाचन क्षेत्र नम्बर २ (ख)बाट निर्वाचित सांसद हुन् । उनी कांग्रेस बागमती प्रदेश समितिका महमन्त्री समेत हुन् ।

त्यसै मुख्यमन्त्री बानियाँले संसदीय दलको विधानको दफा १० को उपदफा ८ बमोजिम संसदीय दलको सदस्य सचिवमा मीनकृष्ण महर्जनलाई नियुक्त गरेका छन् । प्रदेशको पूर्व युवा तथा खेलकुद मन्त्री समेत रहेका महर्जनलाई बानियाँले सदस्य सचिवको जिम्मेवारी प्रदान गरेका हुन् ।

महर्जन ललितपुर निर्वाचन क्षेत्र नम्बर २ (क)बाट निर्वाचित सांसद हुन् । साउन ९ मा तत्कालीन दल नेता लामा माथि अविश्वास प्रस्ताव दर्ता तथा पारित र संसदीय दलको नेताको निर्वाचनको क्रममा दुवै जनाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

मुख्यमन्त्री बानियाँले संसदीय दलको उपनेता तथा कोषाध्यक्ष भने नियुक्त गरेका छैनन् । यद्यपि मुख्यमन्त्री बानियाँले विधानको दफा ९ को उपदफा २ को खण्ड (ख) बमोजिम संसदीय दलको कार्यसमिति समेत गठन गरेका छन् । गत साउन २० मा प्रदेशको मुख्यमन्त्री बनेका बानियाँले आगामी साता भित्रै विश्वासको मत लिने तयारी अनुसार संसदीय दल गठन तथा प्रमुख पदमा नियुक्ति दिएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*