जेन-जी आन्दोलनमा भएको क्षतिको विवरण असोज ५ गते भित्र पेस गर्न बागमतीको निर्णय

हेटौंडा टुडे
२०८२ आश्विन १, बुधबार १३:५१ गते

हेटौंडा। बागमती प्रदेश सरकारले जेन-जी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटका घटनाको मूल्यांकन र पुनर्निर्माणको प्रक्रिया अघि बढाएको छ।

मंगलबार बसेको प्रदेश सचिवस्तरीय बैठकले उच्चस्तरीय कार्यदल गठन गरी तत्काल क्षतिको विस्तृत विवरण संकलन गर्ने निर्णय गरेको हो। प्रदेशका प्रमुख सचिव भूपाल बरालको अध्यक्षतामा बसेको बैठकले पुनर्निर्माण कार्यलाई प्रभावकारी बनाउन मन्त्रालयहरूबिच सहकार्य र समन्वय अनिवार्य गर्ने निर्णय गरेको छ।

बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्ठाको संयोजकत्वमा ४ सदस्यीय कार्यदल गठन गरेको  हो । त्यस्तै बैठकले आन्दोलनका क्रममा भएको लुटपाट, तोडफोड तथा आगजनीबाट क्षति पुगेका सम्पत्ति र कागजातहरूको विवरण सुरक्षा निकायसँग समन्वय गरेर कानूनसम्मत मुचुल्का तयार गर्न र आवश्यक बिमा दाबी प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । यहि असोज ५ गतेभित्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गर्न निर्देशन दिइएको छ।

त्यस्तै, क्षतिग्रस्त मन्त्रालय तथा कार्यालयबाट सेवा प्रवाह अवरुद्ध हुन नदिई सम्भाव्य स्थानमा कार्य सञ्चालनको व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ ।

आन्दोलमा भएका क्षतिले कार्यालय सञ्चालनमा आएको अवरोधलाई मध्येनजर गर्दै न्युनतम रुपमा कार्य सञ्चालन गर्न र भवन तथा संरचनाको मर्मत, पुनर्निर्माणका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयसँग समन्वय गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइएको छ । प्रदेश सरकार अन्तर्गतका भवन तथा संरचनामा भएको क्षतिको प्रारम्भिक अध्ययन, पुनर्निर्माण सम्भाव्यता र लागत अनुमानसहितको संक्षिप्त प्रतिवेदन तयार पार्न चार सदस्यीय कार्यदल गठन गरिएको छ ।

कार्यदलको संयोजकमा भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रदेश सचिव ईश्वरचन्द्र मरहट्ठा रहनुहुनेछ भने सदस्यहरुमा खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रालयका सचिव इन्द्रदेव भट्ट, उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्रालयका सचिव हेमराज भूषाल र संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दिपेन्द्र सुवेदी रहनुभएको छ ।

यस्तै, आन्दोलनका क्रममा क्षति वा नष्ट भएका सवारी साधनहरूको विवरण तीन दिनभित्र तोकिएको ढाँचामा उपलब्ध गराउन बैठकले निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*