पुँजी बजार सुधारको लागि कार्यदल गठन

हेटौंडा टुडे
२०८२ आश्विन ३, शुक्रबार १४:३० गते

हेटौंडा । अर्थमन्त्री रामेश्वर खनालले पूँजीबजारमा विकसित विसङ्गति तथा समस्या अध्ययन गरी तत्काल लगानीकर्ताको मनोबल वृद्धि गर्न चाल्नुपर्ने कदमबारे सुझाव दिन कार्यदल गठन गर्नुभएको छ ।

जेन–जी आन्दोलनपछि पहिलो पटक बजार खुल्दा हिजो केही बेरमै नकारात्मक ‘सर्किट ब्रेक’ लागेर कारोबार नै स्थगित भएपछि अर्थमन्त्री खनालले चार सदस्यीय कार्यदल गठन गर्नुभएको हो । खनालले आज मन्त्रीस्तरीय निर्णयमार्फत धितोपत्र बोर्डका कायममुकायम कार्यकारी निर्देशक रुपेश केसी संयोजक रहने गरी कार्यदल गठन गर्नुभएको हो ।

अन्य सदस्यमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेप्सेका कामु नायब प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयाल र अर्थमनत्रालयका उपसचिव शरद निरौला छन्।

कार्यदलले लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधारका लागि सुझाव र ठोस कार्यान्वयन कार्ययोजना पाँच दिनभित्र पेश गर्नुपर्नेछ ।

हिजो शेयर बजार परिसूचक नेप्से १ सय ६० अङ्कले घट्दा लगानीकर्ताले २ खर्ब ६८ अर्ब रुपैयाँभन्दा धेरै शेयर सम्पत्ति गुमाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*