हेटौंडा ।विभिन्न जिल्लामा आज छठ पर्वको ‘सझुका अरख’ को तयारी गरिँदै छ । व्रतालु आज निराहार व्रतमा छन् । निराहार व्रतको साँझ अस्ताउँदा सूर्यलाई अर्घ्य दिने विधिलाई ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिन्छ । वर्तालु आज यही ‘सझुका अरख’ को तयारीमा छन् । बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका वर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने व्रत विधि रहेको छ।
सूर्यदेव र षष्ठीदेवी (छठीदेवी) को आराधना गरिने चार दिने यो पर्वको आज मुख्य दिन मानिन्छ । कात्तिक शुक्ल चौथीका दिन गत शनिबार ‘नहायखाय’ विधिबाट पर्व सुरु गरेका वर्तालुले दोस्रो दिन आइतबार ‘खरना’ विधि सम्पन्न गरेका थिए ।
श्रद्धा निष्ठा र समर्पणको प्रतीक मानिने छठपर्वका अवसरमा यहाँका जलाशयमा बनाइएका घाट अत्यन्त मनमोहक बनाइएका छन् । वर्तालुले मङ्गलबार सप्तमीका तिथिका दिन बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिएपछि छठपर्व विधिवत् रुपमा सम्पन्न हुनेछ । व्रत समापन गरिने बिहानको यो विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ ।
यसअघि गत शनिबार उसिना चामल, माछा–मासु, मुसुरो, लसुन–प्याज र व्रतमा अशुद्ध मानिएका भोजन त्यागेर वर्तालुले पवित्र स्नान गरेर व्रत सङ्कल्प गर्दै ‘नहाय–खाय’ विधि गरेका थिए । यसलाई ‘अर्बाअर्बाइन’ पनि भनिन्छ । यसैगरी दोस्रो दिनको ‘खरना’ विधि आइतबार सम्पन्न भएको छ ।
‘खरना’ विधिका दिन बिहानै नुहाएर दिनभरि उपवास बसेर साँझ चन्द्र दर्शन गर्दै घरका कूलदेवता र छठी मातालाई सख्खरमा पकाइएको चामलको खिर चढाइन्छ । त्यही खिर खाएपछि वर्तालुको निराहार व्रत प्रारम्भ हुन्छ । यो ‘खरना’ को प्रसाद नयाँ माटोको चुल्होमा पकाउने मैथिल चलन छ ।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो। त्यस समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ। लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो।


















