हेटौंडा। सवारी चालक अनुमति पत्र (लाइसेन्स) छाप्ने काम भोलि (सोमबार) देखि पुनः सुरु हुने भएको छ। गत बुधबार यातायात व्यवस्था विभागसँगको सहमतिअनुसार सुरक्षण मुद्रण केन्द्रले सोमबारदेखि लाइसेन्स छाप्न लागेको हो।
लामो समयदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को प्रतीक्षामा रहेका सेवाग्राहीले अब कागज बोकिराख्नुपर्ने झन्झटबाट राहत पाउने भएका छन् । सुरक्षण मुद्रण केन्द्रले ‘क्युआर कोड’ समावेश गरिएको स्मार्ट लाइसेन्स छपाइको तयारी गरेसँगै सेवाग्राहीले राहत पाउने भएका हुन् ।
जेनजी आन्दोलनका कारण लाइसेन्स छपाइ प्रभावित भएको र छापिएका कतिपय लाइसेन्स पनि जलेपछि स्थगित भएको थियो।
सुरक्षण मुद्रण केन्द्रले दैनिक पाँच सयका दरले लाइसेन्स छाप्ने तयारी गरेको हो। नयाँ लाइसेन्समा क्यूआर कोडको प्रयोग हुने यातायात व्यवस्था विभागले जनाएको छ। यसअघि छापिने लाइसेन्समा चिप जडान हुँदै आएको थियो। नयाँ क्यूआर कोड राखेर छापिने लाइसेन्स नयाँ स्वरुपमा आउने सुरक्षण मुद्रण केन्द्रका उपसचिव गोपालराज तिमिल्सिनाले जानकारी दिए।
योजनाले वैदेशिक रोजगारीमा जाने तथा अत्यावश्यक परेकासहित हाललाई १२ लाख सेवाग्राहीलाई ठुलो राहत मिल्ने अपेक्षा गरिएको छ ।
यातायात व्यवस्था विभागका अनुसार करिब २५ लाख सवारी लाइसेन्स छाप्न बाँकी छ। आगामी ६ महिनाभित्र २५ लाखमध्ये १२ लाख लाइसेन्स केन्द्रले छापेर विभागलाई दिनेछ।


















