हेटौंडा । बागमती प्रदेशको राधजानी हेटौंडा बजार क्षेत्रको सडक विस्तार कार्य मंसिर २० गतेबाट सुरु हुने भएको छ । सडक अतिक्रमण गरेर बनेका स्थायी र अस्थायी संरचनाहरू १५ दिनभित्र हटाउन सम्बन्धित व्यक्तिहरूलाई सडक डिभिजन कार्यालय हेटौंडाले मंसिर ५ गते सूचना जारी गरिसकेको अवस्थामा २० गतेबाट संरचना भत्काउन सुरु गरिने भएको हो ।
वर्षौंदेखि अलमलिएको हेटौडा सडकखण्ड विस्तारले यसपटक भने सार्थकता पाउने निश्चित भएको छ। पूर्वपश्चिम राजमार्गको हेटौडा बजारमा पटकपटकको अवरोधपछि डिभिजन सडक कार्यालयले सडक विस्तार गर्न सकेको थिएन तर यसपटक भने डिभिजन सडक कार्यालय पूर्ण तयारीका साथ लागेको छ।
सडक अतिक्रमण गरी बनेका संरचनाहरू मंसिर १९ गतेसम्म नहटाएमा सडक डिभिजन कार्यालय हेटौंडाले यही २० गते बिहानबाट डोजर लगाएर भत्काउने सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख गुरुप्रसाद अधिकारीले बताएका छन । मंसिर २० गते बिहानबाट चार क्षेत्रबाट डोजर लगाएर अतिक्रमण गरी बनेका स्थायी र अस्थायी संरचनाहरू हटाइने उनले जानकारी दिएका छन । यसपटक सडक विस्तारमा हेटौडा उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालयको ठूलो सहयोग देखिएको छ।
सडक विस्तारका लागि राजमार्गको ट्राफिक व्यवस्थापन र वैकल्पिक रूट लगायतका कुराहरूमा ध्यान दिन ‘टाक्स फोर्स’ समेत गठन गरिएको छ। सोही ‘टाक्स फोर्स’ को प्रतिवेदन अनुसार राजमार्ग व्यवस्थापन गरी सडक विस्तारको काम थाल्ने तयारी गरिएको छ।
सडक विस्तारका क्रममा सवारी साधनहरुलाई आवतजावत गर्न रोकावट नहोस् भन्नका निम्ति तीनवटा सडक लाई वैकल्पिक रुटका रूपमा लैजाने तयारी गरिएको छ। जसअनुसार चितवन हुँदै बीरगञ्जतर्फ लाग्ने सवारी साधनका लागि हेटौडाको राप्ती पुल छेउबाट त्रिवेणी हुँदै रातोमाटे निकाल्ने, त्यस्तै हेटौडा काठमाडौँ छोटो दूरीका सवारी साधनलाई रातोमाटेबाट त्रिवेणी धाम हुँदै राप्ती पुल हुँदै राप्ती खोलाको किनारबाट चौकी टोल निकाल्ने र कान्तिराजपथ र मदन भण्डारी लोकमार्गमा चल्ने सवारी साधनका लागि कमाने हुँदै सिधै रातोमाटे निकाल्ने गरी वैकल्पिक रुटको तयारी गरिएको छ।
यसअघि हेटौंडाबजार भत्काउन सुरु गरेपछी यहाँका केहि घरधनीले अदालतमा रिट दायर गरेपछी अदालतले स्टे अर्डर दिएको थियो। २५ मिटर सडक विस्तारकै मुद्धामा सर्वोच्च अदालतले २५/२५ गज भत्काउन मिल्ने र त्यस भन्दा बढी भत्काउन परे क्षतिपुर्ति दिनुपर्ने भनि उत्प्रेषण आदेश दिएको थियो । अदालतकै आदेशलाई टेकेर सडक कार्यालयले २५/२५ गज भत्काउने तयारी गरेको छ । २५ गज भन्नाले २२ दशमलब ८६ मिटर हुन्छ ।


















