हेटौंडा–नारायणगढ सडक खण्ड विस्तार हुँदै, सडक विभाग र एडीवीको यस्तो छ पत्र

हेटौंडा टुडे
२०८२ मंसिर २५, बिहीबार ११:०९ गते

हेटौंडा ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले पृथ्वी राजमार्ग र महेन्द्र राजमार्गका महत्त्वपूर्ण खण्डहरूको स्तरोन्नति तथा विस्तार कार्यलाई तीव्रता दिने भएको छ । सडक विभागको आयोजना निर्देशनालय एडीबीले एक सार्वजनिक सूचना जारी गर्दै एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सञ्चालित विभिन्न सडक आयोजनाहरूको विस्तृत विवरण सार्वजनिक गरेको हो ।

निर्देशनालयकाअनुसार महेन्द्र राजमार्ग अन्तर्गतको हेटौँडा–नारायणगढ सडक खण्डमा पनि व्यापक स्तरोन्नति हुने भएको छ। विशेष गरी गोन्द्राङ्ग–टिकौली जंगल क्षेत्रमा २ किलोमिटर लामो ‘फ्लाइओभर’ निर्माण गरिने भएको छ । गोन्द्राङ्ग–टिकौली जंगल मा २ किलोमिटरको फ्लाइओभर सहित राप्ती नदी पुलसम्म खुला तथा जंगल क्षेत्रमा ४ लेन सडक सहित विस्तार गरिने सूचनामा उल्लेख छ ।

साथै बस्ती तथा बसोबास क्षेत्रमा ४ लेनको मुख्य सडकमा थप १–१ लेनको सर्भिस लेन र शहरी क्षेत्रमा ४ लेनको मुख्य सडकमा थप २–२ लेनको सर्भिस लेन, ड्रेन, फुटपाथ, पैदलयात्रु हिँड्ने पुल र सवारी साधन वारपार गर्ने पुलहरू निर्माण गरिने जनाएको छ ।

सडक विस्तार र स्तरोन्नतिको कार्य सुरु भइसकेको भन्दै आयोजना निर्देशनालयले सडकको सीमामा रहेका घर, टहरा तथा अन्य संरचना निर्माण नगर्न सर्वसाधारणमा अनुरोध गरेको छ । सहज निर्माण कार्यका लागि सडक क्षेत्रमा पर्ने विद्युत् पोल, ढल, खानेपानी एवम् अन्य सार्वजनिक संरचनाहरू स्थानान्तरण गर्न र थप संरचना नबनाउन सम्बन्धित सबैमा सूचनामार्फत आग्रह गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*