वैदेशिक रोजगारमा हुने ठगी रोक्न ‘हेल्प टु हेल्प १० सेल’ सञ्चालनमा ल्याइँदै

हेटौंडा टुडे
२०८२ पुष १, मंगलवार १५:५५ गते

हेटौंडा । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा हुने ठगी रोक्न ‘हेल्प टु हेल्प १० सेल’ सेन्टर सञ्चालनमा ल्याउने भएको छ ।मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनले पुस ८ गतेदेखि ‘हेल्प टु हेल्प १० सेल’ सञ्चालनमा ल्याउने जानकारी दिएको छ ।  सबै श्रमिकका लागि आधिकारिक सूचना र सुरक्षित निर्णय गर्न सहयोग गर्नको लागि अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसर पारेर यो प्रणाली सुरु गर्न लागिएको जनाएको छ । देशभरका ७५३ स्थानीय तहमा रहेका रोजगार सूचना केन्द्र, सातै प्रदेशका श्रम कार्यालय, वैदेशिक रोजगार विभाग र समाधान कल सेन्टरलाई समेटेर ‘हेल्प टु हेल्प १० सेल’ स्थापना गर्न लागिएको हो । यी सबै स्थानबाट कार्यलय समयमा सेवा लिन सकिनेछ ।

सेल स्थापना गर्नुका मुख्य तीन वटा उद्देश्य छन् । श्रमिकले राज्यको आधिकारिक सूचनालाई आधार मानेर निर्णय गर्न सकून्, डिजिटल माध्यमबाट फैलिरहेका ठगी तथा झुटा प्रलोभनबाट जोगिन सकुन् र वैदेशिक रोजगारमा पूर्ण सुरक्षितता सुनिश्चित होस् भन्ने उदेश्य रहेको बताइएको छ ।

मन्त्रालयका सचिव डा. कृष्णहरीका अनुसार पछिल्लो समय टिकटक, फेसबुकका रिल लगायत सामाजिक सञ्जालमार्फत ‘यति पैसा कमाइन्छ’, ‘फलानो देश सजिलै पठाइदिन्छौँ’ जस्ता भ्रमपूर्ण प्रचार बढेको छ । त्यसबाट श्रमिकलाई जोगाउन यो सेल प्रभावकारी हुने उनको विश्वास छ ।

‘हेल्प टु हेल्प १० सेल’ मार्फत वैदेशिक रोजगारमा जाने श्रमिकले १० वटा प्रमुख प्रश्नको उत्तर प्राप्त गर्न सक्नेछन् । यसमा कुन देशमा रोजगारीको माग छ वा छैन, आधिकारिक म्यानपावर कम्पनी कुन हुन्, कामका लागि आवश्यक योग्यता, उमेर, तालिम, स्वास्थ्य अवस्था, लाग्ने खर्च, भुक्तानी प्रक्रिया, सुरक्षित जाने विधि तथा सम्बन्धित निकायका आधिकारिक सम्पर्क ठेगाना लगायतका विषय समावेश छन् ।मन्त्रालयले हरेक वर्ष डिसेम्बर १८ मा अन्तर्राष्ट्रिय रूपमा मनाइने अन्तर्राष्ट्रिय आप्रवासन दिवस नेपालमा पनि साप्ताहव्यापी रुपमा मनाउन लागेको सचिव पुस्करले जानकारी दिए ।पुस १ देखि ७ गतेसम्म नेपालमा ‘श्रम आप्रवासनका चक्रमा सुशासनः सुरक्षित, मर्यादित र सीपयुक्त आप्रवासन’ भन्ने नाराका साथ २५ औ अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउन लागिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*