हेटौंडा । हेटौंडा जेसीजले सेनेटरी प्याड भेन्डिङ मेसिन तथा प्याड हस्तान्तरण गरेको छ । जेसीआई हेटौंडाले सोमबार हेटौंडा–१० स्थित बसपार्क नजिकको सामुदायिक प्रहरी सेवा उपकेन्द्रमा प्याड भेन्डिङ मेसिन जडान तथा निःशुल्क प्याड वितरण गरेको हो । सार्वजनिक स्थानमा यस्ता मेसिन जडानले किशोरी तथा महिलालाई ठूलो राहत पुग्ने विस्वास गरीएको छ ।
हेटौंडा उपमहानगरपालिका, सामुदायिक प्रहरी, जेसीआई हेटौंडा तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिको उपस्थितिमा करिब ३० हजार रुपैयाँ बराबरको मेसिन तथा प्याड वितरण गरिएको जेसीज महासचिव सञ्जकुमार न्यौपानेले जानकारी दिएका छन।
जेसीआई हेटौंडाका अध्यक्ष पंकजदास बनियाँले महिलाको मासिकरुपमा हुने रजस्वलालाई लिएर अझै पनि समाजमा विकृति र समस्यालाई कम गर्न यो पहल गरिएको बताए । ‘स्वच्छता र सम्मानजनक जीवनका लागि समाजिक विकृतीलाई तोड्नु हाम्रो समाजको आधारभूत आवश्यकता हो,’ उनले भने ।
कार्यक्रम संयोजक जेसी राहुल दासका अनुसार सार्वजनिक स्थानमा आवश्यकताका बेला सहज रूपमा प्याड उपलब्ध गराउने लक्ष्यसहित मेसिन जडान गरिएको हो । कार्यक्रममा उपस्थित अतिथिहरूले अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए । मेसिन हस्तान्तरण कार्यक्रममा हेटौंडा जेसीज वर्ष २०२० का शाखा अध्यक्ष राजेदब बानियाँ तथा हेटौंडा जेसीजको पदाधिकारी तथा सामुदायिक प्रहरी उपकेन्द्रका उपस्थिति रहेको थियो ।


















