हेटौंडा । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदै छन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रूपमा मनाउँछन् ।
यो पर्व सूर्यको किरणसँग सम्बन्धित रहेको विश्वास गरिन्छ । विशेषगरी गुरुङ समुदायको बसोबास रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस महिनामा तमु ल्होसार मनाइने गरिएको हो ।
ल्होसारको दिनभन्दा अघिल्लो साँझदेखि नै गुरुङ्ग समुदायमा यसलाई मनाउन सुरू गरिन्छ। साँझ पूजापाठ, भोजभत्तेर, नाचगान गरेर आधा रातमा ‘नयाँ वर्ष आयो’ भन्दै नयाँ वर्षको स्वागत गरिन्छ। ल्होसारको दिन बिहानदेखि नै ढोग-भेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर (स्योकै)भोज खुवाएर बडो धुमधामका साथ मनाइन्छ। ल्होसारको दिन गुरूङ जातिहरू आफ्नै मौलिक भेषभुषामा सजिन्छन्। शिरवन्दी, पिरुमाला, मखमली चोली, घलेक, निलो पटुकी, कालो टिकिस, छिट्को गुन्यु र बुट्टेकर्मु (मजेत्रो) महिलाहरूले लगाएर सजिन्छन् भने पुरूषहरूले शिरमा टोपी, आङमा भोटो, आस्कोट, भाङ्ग्रो लगाउँछन् र त्यसको साथमा कछाड अनि पाखी, पटुकी बाँध्छन्। अन्य जातले जस्तै गुरूङ जातिहरूको पनि पर्वहरू मनाउने एउटा आफ्नै शैली छ, यी जातिहरूमा घाटु, सोरठी स्थानीय भाषामा चुड्का भनेर गुरुङ समुदायमा प्रचलित मौलिक चुड्का नाच नाचेर आफ्ना परिवार, ङोलो ङोल्स्यो साथीभाइहरूसँग रमाइलो गर्छन्। गुरूङ जातिहरूको महान चाड भएकोले प्रधानमन्त्री र देशका अन्य ठुला व्यक्तित्वहरूद्वारा ल्होसारको शुभकामना आदन प्रदान पनि गर्ने गरिन्छ।
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको जानकारहरू बताउँछन् । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।


















