हेटौडा । मकवानपुरको भीमफेदी गाउँपालिका—६ जुरीखेतस्थित सडकमा भएको टाटा सुमो दुर्घटनामा मृत्यु भएका छ मध्ये ५ जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौँडा–काठमाडौँ जोड्ने भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा काठमाडौँबाट हेटौडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको टाटा सुमो आईतबार साँझ दुर्घटना भएको थियो । दुर्घटनामा ९ जना घाईते मध्ये ६ जनाको उपचारका क्रममा मृत्यु भएको थियो । मृत्यु भएका मध्ये भारतको बिहार राज्य पटना बस्ने बर्ष ४२ को रजनिस कुमार, हेटौडा–४ कमलडाँडा बस्ने बर्ष ४० की सबिता लम्साल, हेटौंडा–२ कान्तिराजपथ बस्ने वर्ष २९ को निखिल अग्रवाल, भारतको बिहार राज्य बेगुसराई बस्ने बर्ष ५० को अरबिन्द कुमार, हेटौडा – १० भुटनदेवी टोल बस्ने बर्ष ५६ को कृष्ण प्रसाद फुयालको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार थप एक जना अन्दाजी वर्ष ३५/३६ वर्षको एक जनाको भने पहिचान खुल्न बाँकी रहेको छ । अन्य घाईते ३ जना मध्ये दुईजनाको चितवन स्थित पुरानो मेडिकल कलेजमा र एक जनाको हेटौंडा अस्पतालमा उपचार भईरहेको छ । घाईते मध्ये सुमो चालक हेटौडा –४ कर्रा चोक बस्ने बर्ष ४५ को गणेश थापा र हेटौंडा– कमलडाँडा बस्ने सबिता लम्सालको छोरा बर्ष १२ को अभ्यास लम्साल र रौतहटको चन्द्रपुर नगरपालिका–२ बस्ने बर्ष २१ कि रिचा चौधरीको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।


















