हेटौंडा। अब बैंक तथा वित्तीय संस्थाबाट हुने धितोबन्धकी रोक्का फुकुवा सम्बन्धी सम्पूर्ण काम अनिवार्य रूपमा अनलाइन प्रणालीबाट मात्र गर्नुपर्ने भएको छ। भूमी व्यवस्थापन तथा अभिलेख विभागले आगामी वैशाख २१ गतेदेखि यस्तो व्यवस्था लागु गराउन सूचना जारी गरेको हो।
भूमी प्रशासन निर्देशिका अन्तर्गत तोकिएका बैंक तथा वित्तीय संस्थाले वैशाख २१ गतेबाट र अन्य बैंक तथा वित्तीय संस्थाले जेठ १ गतेदेखि अनिवार्य रूपमा अनलाइन प्रणालीबाट जग्गा फुकुवा तथा रोक्काको काम गर्नुपर्ने उल्लेख गरिएको छ।
सेवा प्रवाहलाई छिटो, सहज र बिचौलियामुक्त बनाउने सरकारको उद्देश्य अनुसार यो निर्णय गरिएको विभागले उल्लेख गरेको छ।
यसबाट सेवाग्राहीले पूर्वानुमानयोग्य समयमा सेवा पाउने, प्रक्रियामा पारदर्शिता बढ्ने तथा अनावश्यक ढिलासुस्ती र बिचौलियाको भूमिका घट्ने अपेक्षा गरिएको छ।



















