हेटौंडा । मकवानपुरको भीमफेदी स्थित क्षेत्रीय कारागारमा कैदीबन्दीहरुमा लागूऔषध मुद्दाका कैदीबन्दी बढि रहेका छन्। उक्त कारागारमा आज (मंगलबार) बिहान सम्ममा ९ सय ७७ कैदीबन्दी रहेका छन भने तीमध्ये ३ सय ८९ जना नै लागूऔषध मुद्दाका कैदीबन्दी छन् ।
त्यसका साथै लागूऔषध मुद्दाका १५ जना भारतीय नागरिक पनि जेलमा रहेका छन् । उक्त कारागारमा लागूऔषध मुद्दापछि जबरजस्तीकरणी मुद्दाका कैदीबन्दीहरु पनि रहेका छन् । कारागार प्रशासनका अनुसार २ सय ६९ जना कैदीबन्दी जबरजस्ती करणीका छन् भने कर्तव्य ज्यान मुद्दाका १ सय ४५ जना रहेका छन् ।
कारागारमा रहेका लागूऔषधका कैदीबन्दीहरु मध्ये सबैभन्दा धेरै मकवानपुरका रहेको भीमफेदी कारागारका प्रमुखले बताएका छन् ।
त्यसैगरी भीमफेदी कारागारमा पुरुष कैन्दीबन्दी राख्ने २ वटा ब्लक छन् भने महिलालाई पुरानो जेलमा राखिएको छ ।
उक्त कारागारमा ३४ जना महिला कैदीबन्दी रहेका छन् । त्यसमध्ये १२ जना बन्दी र २२ जना कैदी रहेका छन् । सो जेलमा ४४ जना विदेशी नागरिक छन् । तीमध्ये २२ जना कैदी र २२ बन्दी रहेका छन् । जेलमा रहेका ९ सय ७७ जना कैदीबन्दीमध्ये ६ सय ९४ जना कैदी रहेका छन् भने बाँकी थुनुवा रहेको कारागार प्रशासनले जनाएको छ ।


















