हेटौंडा । हेटौंडा बजार सडक विस्तार विवाद सम्बन्धी मुद्दा सुनुवाइ आजका लागि पेसी चढेको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र शान्तिसिंह थापाको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो ।
विन्दवासिनी कंसकारसहित ६ जनाले दायर गरेको रिट यसअघि ६ पटक हेर्न नभ्याइने सूचीमा परिसकेको छ । डिभिजन सडक कार्यालय हेटौंडा, हेटौंडा उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय मकवानपुर लगायतका निकायहरूले सडक विस्तार गर्ने प्रक्रिया अघि बढाएपछि सम्पत्तिको अधिकार र मुआब्जाको माग गर्दै मङ्सिर १६ मा स्थानीयहरू सर्वोच्च पुगेका थिए ।
सडक विभाग, सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई समेत विपक्षी बनाएर दायर गरेको रिटमा सर्वोच्चले मङ्सिर ९ गते अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
उक्त मुद्दामा मङ्सिर २६ मा पेसी तोक्दै न्यायाधीश मेघराज पोखरेलको इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्दै अल्पकालीन अन्तरिम आदेश समेत दिएको थियो । मङ्सिर २६ गते न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले अन्य आदेश ‘मिसिल झिकाउने आदेश’ जारी गरेको थियो ।
यस अघि पुस २, पुस ६, पुस १३, पुस २० र पुस २९ गतेको पेसी पनि हेर्न नभ्याइने र नमिल्ने सूचीमा परेको थियो ।
हेटौंडाको मुख्य बजार क्षेक्रको २५–२५ मिटर सडक विस्तारका त्रममा मंसिर २० गते रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुल (महेन्द्र राजमार्ग) र बुद्धचोकदेखि चौकीटोल (त्रिभुवन राजपथ)सम्मको ९ दशमलव ५ किलोमिटरको सडक सीमाभित्र परेका पाँच सयभन्दा बढी घरटहरा डिभिजन सडक कार्यालयले घर भत्काएका कारणले हेटौंडाको मुख्य बजार अहिले अस्तव्यस्त छ ।


















