निर्वाचन आउन ३४ दिन बाँकी, विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक

हेटौंडा टुडे
२०८२ माघ १६, शुक्रबार ११:३३ गते

हेटौंडा। निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ।

आयोगले सातवटै प्रदेश मातहतका जिल्लाको मतपत्रको नमूना सार्वजनिक गरेको छ।

त्यसमा एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अर्को प्रकारको मतपत्रको नमूनासमेत सार्वजनिक गरेको छ ।

त्यसैगरी, उम्मेदवारको सङ्ख्याका आधारमा पनि मतपत्रको नमूना तयार पारिएको आयोगले प्रष्ट पारेको छ।

उम्मेदवार धेरै भएका निर्वाचन क्षेत्रका मतपत्रको आकार तुलनात्मक रूपमा ठूलो र कम उम्मेदवार भएका निर्वाचन क्षेत्रको हकमा भने सानो मतपत्र रहने भएको छ । सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको काठमाडौँमा उम्मेदवार पनि बढी भएकाले मतपत्रको आकार ठूलो हुनेछ ।

आयोगका अनुसार कर्णाली प्रदेशको सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट र रुकुमपश्चिममा एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ।दैलेख र सुर्खेतमा दुईवटा निर्वाचन क्षेत्र रहेको छ। ती जिल्लाको वास्तविक मतपत्रको नमूनासमेत आयोगले सार्वजनिक गरेको छ।

अन्य  जिल्लाका पनि वास्तविक मतपत्र क्रमशः सार्वजनिक गर्दै जाने आयोगले जनाएको छ ।

त्यसैगरी, आयोगले विभिन्न जिल्लाका विभिन्न निर्वाचन क्षेत्रको नमूना मतपत्र तयार पारेर निर्वाचन सचेतनाको कार्यक्रम पनि अगाडि बढाएको छ । मतदाता सचेतना कार्यक्रमका लागि तयार पारिएको नमूना मतपत्र विभिन्न मतदान केन्द्र मातहत पुर्‍याउने काम पनि अगाडि बढेको आयोगले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*