हेटौंडा। हेटौंडाको टिसिएन चौरमा जारी खेलकुद, कृषि तथा पर्यटन महोत्सवमा आज बुधबारबाट राष्ट्रिय महिला भलिबल प्रतियोगिता सञ्चालन हुँदैछ । महोत्सवमा हुने विभिन्न ६ वटा विधाका खेल अन्तर्गत आजबाट राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा न्यू डाइमण्ड स्पोर्टस् क्लव काठमाडौं, जिल्ला भलिबल संघ मकवानपुर, स्टेप भलिबल क्लव लुम्विनी प्रदेश, केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान हेटौंडा, ब्राइट फ्युचर स्पोर्टस् क्लव कोशी प्रदेश र जनशक्ति युवा क्लव मधेश प्रदेश गरी ६ वटा टिमको सहभागिता रहेको छ । आयोजकले सार्वजनिक गरेको खेल तालिका अनुसार उद्घाटन खेल मकवानपुर जिल्ला भलिबल संघ र स्टेप भलिबल क्लवको बीचमा हुनेछ ।
राष्ट्रिय महिला भलिबल प्रतियोगिताको विजेताले ३ लाख तथा उपविजेताले २ लाख रुपैयाँसहित ट्रफी मेडल र प्रमणपत्र प्राप्त गर्नेछ । यस्तै सेमिफाइनल खेल्ने २ टोलीले समान ५० हजार रुपैयाँसहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् ।
सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार तथा अन्य विधागत उत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजक मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तानले जानकराी दिए । महोत्सव अन्तर्गत यसअघि जिल्लास्तरीय ब्याड्मिन्टन प्रतियोगिता, जिल्लास्तरीय महिला र पुरुष १० किलोमिटर दौड प्रतियोगिता, जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता सम्पन्न भैसकेको छ । ८ गतेसम्म राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुनेछ भने ९ र १० गते जिल्लास्तरीय कराँते प्रतियोगिता तथा चैत्र ११ देखि १३ गतेसम्म तेक्वान्दोको राष्ट्रिय प्रतियोगिता हुनेछ ।



















