हेटौंडा। मकवानपुरको मनहरी गाउँपालिकाले आज देखि करदाता सेवा सञ्चालनमा ल्याएको छ। संघीय सरकारको गत कात्तिक १७ गतेको निर्णयअनुसार अब करसम्बन्धी विभिन्न सेवा स्थानीय तहबाटै उपलब्ध गराउने नीति लागू भएसँगै मनहरी गाउँपालिकाले यसको सुरुवात गर्न लागेको जनाएको छ। यससँगै गाउँपालिकाबाटै व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर (प्यान) जारी गर्ने, प्यान रुपान्तरण गर्ने तथा आयकर दर्तासम्बन्धी कामहरू गर्न सकिनेछ।
तालिमप्राप्त कर्मचारी, आवश्यक प्रविधि र उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालन गरिएको छ।
गाउँपालिकाका अनुसार अन्तःशुल्कसम्बन्धी इजाजतपत्र जारी तथा नवीकरण प्रक्रिया पनि अब स्थानीय स्तरमै सहज हुनेछ। आवश्यक कागजात संकलन र प्रारम्भिक प्रमाणीकरण गाउँपालिकाबाटै हुने भए पनि अन्तिम स्वीकृति भने सम्बन्धित आन्तरिक राजस्व कार्यालयबाट डिजिटल हस्ताक्षरमार्फत हुनेछ।
सेवा सुरु भएसँगै करदाताले हेटौँडा जानुपर्ने बाध्यता हट्ने र समय तथा खर्च बचत हुने अपेक्षा गरिएको छ।


















