हेटौंडा। मकवानपुरमा चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ३३२ वटा सवारी दुर्घटना हुँदा ५३ जनाको मृत्यु भएको छ।
यसैगरी, बागमती प्रदेशका १० जिल्लामा चालु आर्थिक वर्षको १० महिनामा १ हजार ६५८ सवारी दुर्घटना हुँदा २८१ जनाको मृत्यु भएको छ ।
उपत्यकाबाहेक बागमती प्रदेशका १० जिल्लामध्ये दुर्घटनाबाट मृत्यु हुने संख्याका आधारमा मकवानपुर चितवनपछि दोस्रो स्थानमा देखिएको छ। चितवनमा सबैभन्दा धेरै सवारी दुर्घटना हुने गरेको तथ्यांक छ । गत आर्थिक वर्षमा सवारी दुर्घटनाका कारण चितवनका मात्रै १२० जनाले ज्यान गुमाएका छन् । यसवर्ष चितवनमा यो अवधिमा ज्यान गुमाउनेको संख्या ८९ पुगेको छ । दश महिनामा चितनवमा ४ सय ८४ सवारी दुर्घटना भएका छन् । ८७ जना गम्भीर घाइते भएका छन् भने ८ सय ९ जना सामान्य घाइते भएको प्रहरीको तथ्यांक छ ।
बागमती प्रदेश गत आर्थिक वर्ष २०८१/०८२ मा यी दश जिल्लामा २ हजार ४ सय २२ सवारी दुर्घटनामा ३०४ जनाको मृत्यु भएको थियो । यसैगरी आर्थिक वर्ष २०८०/०८१ मा १ हजार ५ सय ३६ सवारी दुर्घटना भएको थियो । जसमा ३१५ जनाले ज्यान गुमाएको तथ्याकंले देखाएको छ । तथ्याकंका अनुसार आर्थिक वर्ष २०८१/०८२ को तुलनामा अघिल्लो वर्ष मृतक संख्या ११ ले कम हो ।
यसैगरी, मकवानपुरमा आर्थिक वर्ष २०८१/०८२ मा ४०७ दुर्घटना हुँदा ५० जनाको मृत्यु भएको थियो। तर, चालु आर्थिक वर्षको १० महिनामै मृत्यु संख्या गत वर्षभन्दा बढी पुगेपछि जिल्लाको सडक सुरक्षा अवस्था थप चुनौतीपूर्ण बनेको छ। प्रदेश प्रहरीका अनुसार बागमतीका १० जिल्लामा सो अवधिमा १ हजार ६५८ दुर्घटना हुँदा २८१ जनाको मृत्यु र ३ हजार २९६ जना घाइते भएका छन्।
मकवानपुरका मुख्य राजमार्ग, पहाडी सडकखण्ड, साँघुरा मोड, तीव्र गति र चालकको लापरबाही दुर्घटनाका मुख्य कारणका रूपमा देखिएका छन्। गत पुसमा भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका–६ जुरीखेतमा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो।
दुई पाङ्ग्रे सवारी दुर्घटनाको संख्या पनि उच्च देखिएको छ। प्रदेश प्रहरीको तथ्यांकअनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म बागमतीका १० जिल्लामा १ हजार ३५० दुई पाङ्ग्रे सवारी दुर्घटनामा परेका छन्। मकवानपुरमा मोटरसाइकल दुर्घटना बढ्नुमा मादक पदार्थ सेवन, तीव्र गति, हेल्मेट प्रयोग नगर्नु, तीन जना चढेर यात्रा गर्नु र रातको समयमा लापरबाहीपूर्वक सवारी चलाउनु मुख्य कारण रहेको ट्राफिक प्रहरीले जनाएको छ।
दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विद्यालय, टोल र चालक सचेतना, मापसे तथा लापसे जाँच, टाइम कार्ड प्रणाली र राजमार्ग निगरानी बढाएको जनाएको छ।
मकवानपुरमा टिपर तथा मालवाहक सवारी, ओभरलोड, कागजपत्र अभाव र सडक किनारमा जथाभावी पार्किङ पनि जोखिमका कारण बनेका छन्। पछिल्लो एक महिनामा मात्रै विभिन्न कारबाहीबाट करिब २० देखि २२ लाख रुपैयाँ राजस्व संकलन भएको छ।





















