हेटौंडा। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रदेश सांसदहरूलाई बजेट सिलिङ वितरण गरेको छ । प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड रुपैयाँ र समानुपातिक सांसदलाई ३ करोड रुपैयाँको सिलिङ दिइएको हो ।
प्रदेश सरकारको यो व्यवस्था अनुसार कुल १०४ जना प्रदेश सांसदलाई करिब ४ अर्ब रुपैयाँभन्दा बढीको योजना बाँड्ने तयारी गरिएको छ । ११० सांसदमध्ये ६ जनाले पदबाट राजीनामा दिइसकेका छन् ।
प्रदेश सभामा ६० प्रत्यक्ष निर्वाचित र ४४ समानुपातिक सांसद रहेका छन् । सो अनुसार प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोडका दरले करिब ३ अर्ब रुपैयाँ र समानुपातिक सांसदलाई ३ करोडका दरले करिब १ अर्ब ३२ करोड रुपैयाँ बराबरको योजना माग गरिएको बताइएको छ ।
सरकारी स्रोतका अनुसार सांसदहरूले आ–आफ्नो निर्वाचन क्षेत्रका योजना छनोट गरेर पेश गर्नेछन् र ती योजना बजेट सूचना प्रणालीमार्फत समावेश गरिनेछ । आयोजना छनोट निर्देशिका अनुसार भौतिक पूर्वाधारतर्फ न्यूनतम ३० लाख र सामाजिक क्षेत्रमा न्यूनतम १५ लाख रुपैयाँका योजना समावेश गर्न सकिने व्यवस्था गरिएको छ ।
यद्यपि प्रदेश सरकारका प्रवक्ताले भने सांसदहरूलाई सीधै बजेट बाँडिएको नभई आयोजना छनोटका लागि मात्र विकल्प दिइएको दाबी गरेका छन् । उनका अनुसार आयोजना बैंकमार्फत आएका योजनालाई प्राथमिकता दिने प्रक्रिया अपनाइनेछ ।





















