हेटौंडा। यातायात व्यवस्था विभागले हालै वृद्धि गरिएको सार्वजनिक सवारी साधनको भाडा विद्युतीय सवारीको हकमा लागू नहुने स्पष्ट पारेको छ । विद्युतीय सवारी साधनले समेत डिजेल इन्जिनका सवारीसरह भाडा बढाएपछि यातायात व्यवस्था विभागले कारबाहीको चेतावनी दिएको हो।
विभागले एक सूचना जारी गर्दै डिजेल इन्जिन प्रयोग हुने सवारी साधनको मात्र भाडा वृद्धि गरिएको जानकारी दिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि स्वचालित भाडा समायोजन प्रणाली अनुसार गत चैत २५ गतेदेखि लागू हुने गरी अन्तरप्रदेशीय सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरिएको थियो । तर, उक्त वृद्धि केवल डिजेलबाट चल्ने यात्रुवाहक तथा मालवाहक सवारीको हकमा मात्र भएको विभागले जनाएको छ ।
पछिल्लो समय केही विद्युतीय सवारी चालक तथा यातायात सेवा प्रदायकले बढेको भाडा असुल गरिरहेको र यात्रुलाई अनिवार्य दिनुपर्ने टिकट समेत नदिएको गुनासो प्राप्त भएपछि विभागले यस्तो स्पष्टीकरण दिएको हो ।
विभागले सबै यातायात व्यवसायीलाई यात्रुसँग साविककै भाडा लिन र अनिवार्य रूपमा टिकट प्रदान गर्न निर्देशन दिएको छ । यदि विभागको यस निर्देशन विपरीत बढी भाडा लिएको वा नियम पालना नगरेको पाइएमा ‘सवारी तथा यातायात व्यवस्था ऐन २०४९’ र ‘सवारी तथा यातायात व्यवस्था नियमावली २०५४’ बमोजिम कडा कानुनी कारबाही गरिने चेतावनी समेत दिइएको छ।


















