हेटौँडा। मकवानपुरको भीमफेदी गाउँपालिका–८ बगुवास्थित कान्तिलोकपथ सडकखण्ड अन्तर्गत मकवानपुर र ललितपुर जोड्ने बागमती पुलबाट टेलर गाडी खोलामा खस्दा चालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता माधव काफ्लेका अनुसार हेटौँडाबाट ललितपुरमा निर्माणाधीन बागमती जलविद्युत् आयोजनाका सामग्री लिएर हेटौंडाबाट बगुवा तर्फ जाँदै गरेको ना ६ ख ४०४२ नम्बरको उक्त टेलर गाडी गएराति दुर्घटना हुँदा हेटौँडा उपमहानगरपालिका–३ का ३० वर्षीय दलबहादुर बर्तौलाको मृत्यु भएको हो । पाइप बाँधिएको टुचिन चुडिएपछि गाडी अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
सहचालक राक्सिराङ गाउँपालिका–९ का १७ वर्षीय प्रशन्न प्रजा सकुशल रहेका छन्। दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी नायब निरीक्षक प्रमोद साह तेलीको कमाण्डमा ट्राफिकसहितको टोली घटनास्थल पुगेको थियो।
यस्तै, नेपाली सेनाको फास्ट ट्र्याक सुरक्षा बेसबाट जमदार माधवप्रसाद घिमिरेको नेतृत्वमा खटिएको टोलीले उद्धार कार्य सञ्चालन गरेको थियो। राति करिब ८:२० बजे क्रेनको सहायताले टेलरलाई खोलाबाट बाहिर निकालिएको र चालक बर्तौला गाडीको स्टेयरिङमै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।






















