हेटौँडा । पछिल्ला केही दिनयता तापक्रम निरन्तर बढ्दै गए पछि देशका विभिन्न क्षेत्रमा जनजीवन प्रभावित हुन थालेको छ।अत्यधिक गर्मीका कारण सर्वसाधारणलाई दैनिक कामकाज गर्न कठिनाइ हुन थालेको छ भने स्वास्थ्य सम्बन्धी समस्या पनि बढ्न थालेका छन्।
हेटौँडामा दिउँसोको समयमा सडक तथा बजार क्षेत्रमा चहलपहल घटेको देखिएको छ। गर्मीबाट बच्न मानिसहरू घरभित्र बस्न बाध्य भएका छन्। विद्यालय जाने विद्यार्थी, मजदुरी गर्ने श्रमिक तथा खुला स्थानमा काम गर्ने व्यक्तिहरू सबैभन्दा बढी प्रभावित भएका छन्।
विशेषगरी तराई तथा भित्री मधेशका जिल्लाहरूमा तापक्रम निरन्तर वृद्धि हुँदा सर्वसाधारणलाई दैनिक कामकाज गर्न कठिनाइ भइरहेको छ। अत्यधिक गर्मीका कारण तातो हावा चल्दा कतिपय विद्यालयका विद्यार्थी कक्षाकोठामै अध्ययनकै क्रममा बेहोस भएर ढल्ने घटना देखा पर्न थालेको त्रियुगा विद्यालय शिक्षकहरु बताउछन् ।
अत्यधिक गर्मीका कारण लु लाग्ने, शरीरमा पानीको कमी हुने (डिहाइड्रेसन), टाउको दुख्ने, थकान महसुस हुने तथा अन्य गर्मीजन्य रोगका बिरामीहरू स्वास्थ्य संस्थामा बढ्न थालेको जानकारी दिदै चिकित्सकहरूले पर्याप्त पानी पिउन, चर्को घाममा अनावश्यक रूपमा बाहिर ननिस्कन तथा स्वास्थ्यमा असहजता महसुस भए तत्काल उपचार गराउन आग्रह गरेका छन्।





















