हेटौडा । मकवानपुरको ऐतिहासिक तथा पर्यटकीय क्षेत्र ढुङ्गेगढीमा खानेपानी सुविधाको विस्तार गर्दै आन्तरिक पर्यटन प्रवर्द्धन तथा सैनिक–नागरिक सम्बन्ध सुदृढ बनाउने उद्देश्यले नेपाली सेनाले निर्माण गरेको ढुङ्गेधारा र ५ हजार लिटर क्षमताको पानी ट्यांकी मकवानपुरगढी गाउँपालिकालाई हस्तान्तरण गरिएको छ।नेपाली सेनाको शीघ्र प्रभावी आयोजना अन्तर्गत गोरख बहादुर गणले मकवानपुरगढी गाउँपालिका–२ ढुङ्गेगढीमा निर्माण सम्पन्न गरेको उक्त संरचना मध्य पृतना मुख्यालयका पृतनापति उपरथी विष्णुकुमार खड्काले औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको हो।
हस्तान्तरण कार्यक्रममा बोल्दै उपरथी खड्काले ऐतिहासिक तथा धार्मिक महत्व बोकेको ढुङ्गेगढी क्षेत्रको संरक्षण, प्रवर्द्धन र स्थानीय समुदायको आवश्यकतालाई सम्बोधन गर्न नेपाली सेना प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले यस्ता आयोजनाले स्थानीय समुदाय र सेनाबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतान, नम्बर ७ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी विक्रम गुरुङ, वडा नम्बर २ का अध्यक्ष बखानसिंह पाख्रिन, गोरख बहादुर गणका गणपति प्रमुख सेनानी रविन्द्रकुमार श्रेष्ठ लगायत जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।
नेपाली सेनाका अनुसार निर्माण गरिएको ढुङ्गेधारा तथा पानी ट्यांकीबाट ढुङ्गेगढी भ्रमणमा आउने पर्यटक, काली मन्दिरका श्रद्धालु तथा स्थानीय बासिन्दाले स्वच्छ खानेपानी सुविधा प्राप्त गर्नेछन्। यसले क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।
स्थानीय आवश्यकतालाई सम्बोधन गर्दै ऐतिहासिक क्षेत्रको पूर्वाधार विकासमा गरिएको यो पहलले नेपाली सेना र नागरिकबीचको सम्बन्ध थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।


















