बागमती प्रदेशका सरकारी अस्पतालमा रेबिज खोप अभाव पछि उपचार सेवा प्रभावित

हेटौंडा टुडे
२०८३ असार ९, मंगलवार १०:२४ गते

हेटौंडा । बागमती प्रदेशका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा रेबिजविरुद्धको खोप अभाव भएपछि उपचार सेवा प्रभावित बनेको छ। हेटौंडास्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमै खोपको मौज्दात सकिएपछि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौंडा अस्पतालसहित प्रदेशका १३ जिल्लाका अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा खोप उपलब्ध हुन सकेको छैन।प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, खोप शाखाका ईश्वर महराका अनुसार पछिल्ला दुई–तीन महिनादेखि नै रेबिज खोपको अभाव देखिएको हो। “प्रदेशभरिका स्वास्थ्य संस्थाबाट निरन्तर माग आइरहेको छ, तर केन्द्रमा स्टक नभएकाले वितरण गर्न सकिएको छैन,” उनले बताए।

चालु आर्थिक वर्षमा संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट बागमती प्रदेशका लागि १५ हजार भाइल एन्टी–रेबिज भ्याक्सिन प्राप्त भएको थियो। गत वर्ष मौज्दात रहेको करिब चारदेखि पाँच सय भाइल खोपसमेत थपेर माघ महिनासम्म वितरण गरिएको भए पनि त्यसयता नयाँ आपूर्ति हुन नसकेको केन्द्रले जनाएको छ। प्रदेशभर मासिक करिब १० हजार भाइल खोप आवश्यक पर्ने भए पनि मागअनुसार आपूर्ति हुन नसक्दा समस्या गम्भीर बन्दै गएको छ।

खोप खरिद गर्ने अधिकार संघीय सरकारसँग मात्र भएकाले प्रदेश सरकारले माग गरे पनि समयमै आपूर्ति हुन नसकेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको भनाइ छ। संघीय सरकारबाट खोप उपलब्ध नभएपछि प्रदेशका स्वास्थ्य संस्थाहरू वैकल्पिक उपाय खोज्न बाध्य भएका छन्।खोप अभावकै बीच हेटौंडा अस्पतालले आफ्नै स्रोतबाट करिब १० लाख रुपैयाँ बराबरको रेबिज खोप खरिद गरेर सेवा सञ्चालन गरेको थियो। अस्पतालका प्रवक्ता उत्सव चौलागाईंका अनुसार हाल पुनः करिब १० लाख रुपैयाँ बराबरका २ सय भाइल खोप खरिद प्रक्रिया अघि बढाइएको छ। यद्यपि उक्त खोप आइपुग्न अझै केही दिन लाग्ने बताइएको छ।

कुकुर, बिरालो तथा अन्य जनावरले टोकेपछि लगाइने रेबिजविरुद्धको खोपको माग उच्च रहने भएकाले मौज्दात छिट्टै सकिने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन्। सरकारी स्वास्थ्य संस्थामा खोप नपाएपछि बिरामीहरू निजी अस्पताल तथा क्लिनिकमा जान बाध्य भएका छन्। निजी स्वास्थ्य संस्थामा एक पटक खोप लगाउँदा करिब ६ सय ७५ रुपैयाँसम्म खर्च लाग्ने गरेको छ भने पूर्ण उपचारका लागि तीनदेखि पाँच डोजसम्म खोप लगाउनुपर्ने हुन्छ।

बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले रेबिज खोपको अभाव तत्काल अन्त्य गर्न प्रदेश सरकारले टेन्डर आह्वान गर्ने तयारी गरेको बताएका छन्। उनले संघीय सरकारको आपूर्तिमा निर्भर रहँदा खोप अभावको अवस्था सिर्जना भएको स्वीकार गरे।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*