हेटौंडा । हेटौंडा ११ थानाभर्याङस्थित प्रदेश कृषि थोक बजार परिसरमा तीन दिने ‘ड्रागन फ्रूट महोत्सव–२०८३’ आयोजना हुने भएको छ। नव–निर्मित प्रदेश कृषि थोक बजारको प्रवर्द्धन तथा उत्पादकदेखि उपभोक्तासम्म ताजा र गुणस्तरीय ड्रागन फ्रूट पुर्याउने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको हो। उत्पादकदेखि उपभोक्तासम्म ताजा र गुणस्तरीय ड्रागन फ्रूट” भन्ने मूल नारासहित सञ्चालन हुने महोत्सव आगामी असार ११, १२ र १३ गते आयोजना हुनेछ। महोत्सव बिहान ६ बजेदेखि ११ बजेसम्म तथा दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गरिने आयोजकले जनाएको छ।
महोत्सवमा मकवानपुर जिल्लाका स्थानीय तहका ड्रागन फ्रूट उत्पादक कृषक, कृषि उद्यमी, नर्सरी व्यवसायी तथा अन्य सरोकारवालाहरूले आफ्ना उत्पादन, प्रविधि र परिकारहरू प्रदर्शन तथा बिक्रीका लागि स्टल राख्नेछन्। आयोजकका अनुसार २० देखि ३० वटा रहनेछन्।महोत्सवमा करिब १ हजार ५ सय उपभोक्ताको सहभागिता रहने अनुमान गरिएको छ। यस अवधिमा करिब २ हजार ५ सय किलोग्राम ड्रागन फ्रूटको कारोबार हुने अपेक्षा गरिएको छ।
महोत्सवको प्रमुख आकर्षणका रूपमा उपभोक्ता र वास्तविक कृषकलाई प्रत्यक्ष जोड्ने उद्देश्यले ‘कृषक बजार’ को औपचारिक शुभारम्भ गरिनेछ। यस्तै रातो, सेतो र पहेँलो प्रजातिका ताजा तथा गुणस्तरीय ड्रागन फ्रूटको प्रदर्शनी तथा सहुलियत मूल्यमा बिक्रीको व्यवस्था गरिनेछ।ड्रागन फ्रूटबाट तयार गरिएका जुस, आइसक्रिम, सलाद, जाम लगायतका प्रशोधित परिकारहरूको स्वाद लिन सकिने व्यवस्था पनि मिलाइएको छ। साथै उन्नत जातका बिरुवा, आधुनिक खेती प्रविधि, पोल ९खम्बा० तथा प्राङ्गारिक मलसम्बन्धी प्रविधि र सामग्रीको विशेष प्रदर्शनी गरिने जनाइएको छ।
महोत्सवमा उत्कृष्ट कृषि उपज प्रदर्शन गर्ने तथा सर्वाधिक बिक्री गर्ने कृषकहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिने कार्यक्रमसमेत रहेको छ। प्रदेश कृषि थोक बजार व्यवस्थापन समिति तथा ड्रागन फ्रूट महोत्सव उपसमितिले फलफूल पारखी, उपभोक्ता, कृषक तथा सरोकारवालाहरूलाई महोत्सवमा सहभागी भई ताजा, स्वस्थ र गुणस्तरीय ड्रागन फ्रूटको उपभोग गर्न समेत आग्रह गरेको छ।


















