हेटौडा । शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय सदस्य खुलातर्फ पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ । चितवनमा आइतबारदेखि जारी प्रथम महाधिवेशनमा रास्वपाका नेता तथा शिक्षामन्त्री पोखरेलले खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको हो । केन्द्रीय सदस्यका प्रत्यासी मन्त्री पोखरेलको प्रस्तावकमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल रहनुभएको छ भने पार्टीका विभिन्न २१ जना प्रतिनिधि समर्थक रहेका छन् ।
उम्मेदवारी दर्तासँगै मन्त्री पोखरेलले केन्द्रीय सदस्य भएर पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई थप सशक्त बनाउन भूमिका खेल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको छु । पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई थप सशक्त बनाउन इमानदारीपूर्वक योगदान गर्ने प्रतिबद्धतासहित यहाँहरूको विश्वास र समर्थनको अपेक्षा गर्दछु ।”शिक्षा तथा खेलकुदमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका रास्वपाका नेता पोखरेल काठमाडौँ क्षेत्र नं ५ बाट निर्वाचित सांसद हुनुहुन्छ ।मन्त्री पोखरेलले यसअघि काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख वालेन्द्र शाहका सल्लाहकारका रूपमा काम गर्नुभएको थियो । रास्वपाको महाधिवेशनअन्तर्गत आज निर्वाचन प्रक्रिया सुरु हुने जनाइएको छ ।


















