मकवानपुर ११ माघ । मकवानपुर बहुमुखी क्याम्पसले बृद्धि गरेको शुल्क हाललाई स्थगन भएको छ । आज क्याम्पस प्रशासन र विद्यार्थी बिच भएको बार्ताले बृद्धि गरिएको शुल्क स्थगन गर्ने निर्णय गरेको हो ।
मकवानपुर क्याम्पसका स्ववियु सभापति कुमार केसीले भने – शुल्क बृद्धि स्थगन भयो, अब हामीले शुल्क बृद्धिको विरोधमा गर्दै आएको अनशन कार्यक्रम पनि स्थगन हुन्छ ।
क्याम्पसले एक्कासी शुल्क बृद्धि गरेपछि स्वतन्त्र विद्यार्थी युनियन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र अनेरास्ववियु क्रान्तिकारीले शुल्क वृद्धि खारेज गर्नुपर्ने माग राख्दै रिले अनशन गरेको थियो ।
आज शनिवार मकवानपुर उद्योग वाणिज्य संघको सभाहलमा क्याम्पस सञ्चालक समिति र विद्यार्थीहरुबीच भएको बार्तामा सहमति जुटेपछि आन्दोलनका कार्यक्रमहरु समेत स्थगित हुने भएका छन् ।
बार्तामा क्याम्पस अध्यक्ष अनन्त पौडेल, क्याम्पस प्रमुख शंकर उपाध्याय, स्ववियु सभापति कुमार केसी लगायतको उपस्थिति थियो ।
क्याम्पस प्रशासनले नयाँ विद्यार्थी भर्नामा सय प्रतिशत र मासिक शुल्कमा ६५ प्रतिशत शुल्क वृद्धि गरेपछि अनशन सुरु भएको थियो ।
source:tukhabr