हेटौंडा। गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । विभिन्न विवादित व्यवसायीसँग सेयर कारोबारमा संलग्न रहेको आरोप लागेपछि गुरुङनले प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएका हुन् ।
गुरुङले आफ्नो राजीनामा बारे सामाजिक सञ्जालमार्फत पनि जानकारी दिएका छन् । प्रधानमन्त्री शाहले नियुक्ति भएको दिन नै मन्त्रिपरिषद् गठन गर्दै गुरुङलाई गृहमन्त्री बनाएका थिए । सुरुवाती चरणमा उच्च पदस्थ कर्मचारीहरूलाई पक्राउ गरी चर्चामा आएका गुरुङ पछिल्लो समय भने तीव्र आलोचनाको केन्द्रमा परेका थिए । उच्च स्रोतका अनुसार, रास्वपा सभापति रवि लामिछानेसँगको छलफलपछि गुरुङले राजीनामा दिने निर्णय गर्दै प्रधानमन्त्रीसमक्ष बुझाएका हुन् ।
गृह मन्त्री सुदन गुरुङले हालै उठेका प्रश्न र विवादबारे सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा स्पष्टिकरण दिएका छन् । उनले आफ्नो जिम्मेवारी सम्हालेदेखि नै इमान्दारीपूर्वक काम गरिरहेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको वक्तव्यमा गुरुङले नागरिकस्तरबाट उठेका प्रश्न, टिप्पणी र चासोलाई गम्भीरतापूर्वक लिएको उल्लेख गरेका छन् । विशेषगरी सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै अघि बढिरहेको युवापुस्ताको आवाजलाई उनले सकारात्मक रूपमा लिएका छन् ।
उनले पदभन्दा नैतिकता ठूलो हुने र जनविश्वास शक्ति भन्दा महत्वपूर्ण हुने बताए । लोकतन्त्रमा नागरिकले सरकारलाई प्रश्न गर्न पाउने अधिकार रहेको उल्लेख गर्दै उनले त्यस्ता प्रश्नहरूको जवाफ दिनु सरकारको दायित्व भएको स्पष्ट पारे ।
गुरुङले सञ्चारकर्मी, बौद्धिक वर्ग, युवा तथा सम्पूर्ण नागरिकलाई सामाजिक सञ्जालमा फैलिएका भ्रम र अफवाहभन्दा सत्य र तथ्यमा आधारित जानकारीलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।
पछिल्लो समय मन्त्री गुरुङमाथि लगानी र व्यावसायिक सम्बन्धबारे प्रश्न उठिरहेका बेला उनले यस्तो स्पष्टिकरण दिएका हुन् । विभिन्न पक्षबाट यस विषयमा थप छानबिनको मागसमेत भइरहेको छ ।
अन्त्यमा, उनले राष्ट्र, सुरक्षा निकायको सम्मान र नेपाली युवाको भविष्यप्रति आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएका छन् ।



















