हेटौंडा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको चुनावको मिति पुनः तोकिएको छ । बागमती प्रदेशको प्रथम अधिवेशन अन्तर्गतको स्थगित निर्वाचन प्रक्रिया आगामी जेठ ३० गते बुधबार सञ्चालन हुने भएको हो।
केन्द्रीय निर्वाचन आयोगले बिहीबार जारी गरेको जरुरी सूचनाअनुसार निर्वाचन जेठ ३० गते काठमाडौँको धुम्बाराहीस्थित स्मार्ट दरबार, शंखपार्कमा सम्पन्न हुनेछ। हेटौँडामा अधिवेशनका क्रममा उत्पन्न विवादका कारण निर्वाचन प्रक्रिया रोकिएको थियो, त्यसपछि निर्वाचन काठमाडौँमा सार्ने निर्णय गरिएको हो।
यसअघि जेठ २७ गते प्राविधिक तथा व्यवस्थापकीय कारणले स्थगित गरिएको निर्वाचन प्रक्रियाअन्तर्गतका सम्पूर्ण प्राविधिक कार्यहरू (मतदाता नामावली प्रमाणीकरण, समायोजन सूची व्यवस्थापन र प्राविधिक परीक्षण) सम्पन्न गरेर आयोगले मतदानको मिति तय गरेको हो।
आयोगका अनुसार मतदान बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म हुनेछ। मतदान प्रक्रिया पूर्ण रूपमा विद्युतीय मतदान मेसिनमार्फत सञ्चालन गरिनेछ।
निर्वाचन आयोगले मतदानमा सहभागी हुने प्रतिनिधिहरूका लागि मतदान स्थलमा प्रवेश गर्न र मतदान गर्नका लागि पार्टीले उपलब्ध गराएको आधिकारिक फोटोसहितको परिचयपत्र र लेभी बुझाएको प्रमाण अनिवार्य गरेको छ भने तोकिएको समय भित्रै मतदान केन्द्रमा उपस्थित भई मताधिकार प्रयोग गर्न आग्रह गरिएको छ।
रास्वपाको बागमती प्रदेश अधिवेशन मङ्गलवारदेखि हेटौँडामा सुरु भएको थियो। अधिवेशनका क्रममा विवाद उत्पन्न भएपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो। अधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया प्रारम्भ भएर ५ जनाले मतदान गरेसँगै अधिवेशनका क्रममा विवाद उत्पन्न भएपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो।
रास्वपा बागमती प्रदेश समितिको नेतृत्वको लागि ४ जनाको उम्मेदवारी कायम भएको छ ।
रास्वपा बागमतीको सभापतिका लागि सांसद एवम् निवर्तमान सभापति डा. अच्युतम लामिछाने (नुवाकोट), निवर्तमान प्रवक्ता उत्सव अर्याल (मकवानपुर), कृष्णमान श्रेष्ठ (धादिङ) र हरि बहादुर खत्री (रामेछाप)ले उम्मेदवारी दिएका छन् ।
रास्वपा बागमती प्रदेशको सदस्य पदका लागि भने ८८ जनाको उम्मेदवारी परेको छ । विभिन्न क्लस्टर तथा निर्वाचन क्षेत्र अनुसारका सदस्यका लागि ८८ जनाको उम्मेदवारी परेको हो।
रास्वपा बागमती प्रदेशको उपसभापति, महामन्त्री तथा सहमहामन्त्री पदका लागि भने दोस्रो चरणमा निर्वाचन हुनेछ । उक्त दलमा उम्मेदवार बन्न सदस्य निर्वाचित हुनुपर्ने व्यवस्था रहेकाले दोस्रो चरणमा पुन निर्वाचन हुनेछ ।


















