१९ असार, कतार
कतारमा एकैदिन ७५६ कोरोना संक्रमित थपिएका छन् भने थप तीन जनाको मृत्यु भएको छ । कतारको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ९ सय १० जनाको जाँच गर्दा ७५६ नयाँ संक्रमित थपिएका हुन् । यससँगै कतारमा संक्रमितको संख्या ९८ हजार ६ सय ५३ पुगेको छ । कतारमा कोरोना भाइरस संक्रमणका कारण आज तीन जनाको मृत्यु भएको छ । ७७ बर्षीय, ७७ बर्षीय र ४२ बर्षीय नागरिकको मृत्यु भएको हो । यो संगै कतारमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय २१ पुगेको छ ।
यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ८८ हजार ५ सय ८३ डिस्चार्ज भएर घर फर्किएका छन् । आज मात्रै १९ सय ८६ संक्रमित डिस्चार्ज भएर फर्केका हुन् । कतारमा पहिलो स्वाब नतिजा पोजेटिभ आएका सामान्य बिरामीलाई १४ दिनमा डिस्चार्ज दिने बिश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मार्ग निर्देशन अनुसार उपचार बिधि अपनाइएको छ । ९ हजार ९ सय ४९ कोरोना संक्रमित बिरामीहरुलाई क्वारेन्टाइनमा राखेर उपचार भईरहेको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ । कतारमा अहिले सम्म ३ लाख ७२ हजार ५ जनाको कोरोना जाँच भएको कतारबाट प्रकाशित हुने गल्फ टाइम्सले जनाएको छ । कतारमा कोरोना संक्रमित मध्ये ७ सय ६५ जनालाई अस्पतालमा राखेर उपचार भईरहेको छ भने पछिल्लो २४ घण्टामा ९१ जना अस्पताल भर्ना भएका छन । त्यस्तै आइसियूमा राखेर १ सय ८५ जनाको उपचार भईरहेको मध्ये पछिल्लो २४ घण्टामा १० जना थपिएको कतारबाट प्रकाशित हुने गल्फ टाइम्सले जानकारी दिएको छ ।
यहाँको सरकारले कोभिड–१९ बाट बच्नका लागि सामाजिक दुरी कायम गर्न, अनिवार्य रुपमा माक्स प्रयोग गर्न तथा मोवाइल एप एथेराज पनि अनिवार्य गरेको छ । पछिल्लो समय कतारमा कोरोना संक्रमितको संख्या भने घट्दै गएको तथ्याङक छ । संक्रमित मध्ये अधिकांश आप्रवासी नागरिकहरु रहेका छन् भने उनीहरुको राष्ट्रियता यहाँको सरकारले खुलाएको छैन । कतारमा हाल करिव ३ लाख ५१ हजार नेपालीहरु कार्यरत रहेका छन् ।