
हेटौंडा/जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी हवल्दार काशीराम थापा मगर साउन महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषित भएका छन् । बागमती प्रदेश ट्राफिक प्रहरी कार्याल रामनगर चितवनले शुक्रबार थापालाई साउन महिनाको उत्कृष्ट ट्राफिक घोषित भएको भन्दै प्रमाणपत्र प्रदान गरेको हो ।
राक्सिराङको चैनपुर प्रहरी चौकीमा दरबन्दी रही हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरमा कार्यरत थापाले गत साउन २६ गते हेटौंडा–११ स्थित थानाभर्याङमा मोटरसाइकललाई ठक्कर दिई फरार रहेका चालक र सहचालकमाथि अनुसन्धान गरी पक्राउ गरेकाले पुरस्कृत गरिएको जनाइएको छ । साउन २६ गते राती थानाभर्याङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको थियो भने पछाडि बस्ने एक जना घाइते भएका थिए । प्रत्यक्षदर्शीले दिएका सूचनाको आधारमा थापाले अनुसन्धान गरी सो दूर्घटना गराई फरार रहेका ट्रकका चालक र सहचालकलाई भोलिपल्ट हेटौंडाको राप्ती खोलाको बगरबाट पक्राउ गर्न सफल भएका थिए ।
अपराध अनुसन्धान तथा नियन्त्रण एवम् शान्ति सुरक्षा मजबुद बनाउने, सूचनाको स्रोतको उच्चतम उपयोग गरी परिचालित भई तोकिएको जिम्मेवारी पूरा गर्नेतर्फ जागरुक, उत्सुक, संवेदनशील एवम् लगनशील भई कार्य सम्पादन गरेको भन्दै साउन महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रकाश रानाभाटद्वारा हस्ताक्षरित प्रमाणपत्रमा उल्लेख गरिएको छ ।

