हेटौंडा/स्वतन्त्र जनदवाव अभियानले पूर्वाधार बिकास कम्पनी लि. ले जनताबाट उठाएको रकम फिर्ता गर्ने अभियान अन्तर्गत आज नेकपा माओवादी केन्द्र मकवापुरलाई ज्ञापन पत्र पेश गरेको छ ।
आज नेकपा माओवादी केन्द्र मकवापुरका अध्यक्ष प्रेम बहादुर पुलामीलाई ज्ञापन पत्र बुझाउदै स्वतन्त्र जनदवाव अभियानका संयोजक अनिलकुमार खातिले जनताले खसीबोका, कुखुरा बेचेर लगाएको लगानी काम नहुने भएपछि फिर्ता गर्नुपर्नेमा नेपाल पूर्वाधार कम्पनीले त्यसो नगरेको र प्रदेश सरकारले त्यसमा ध्यान नदिई आफैले हेटौडा–भिमफेदी–कुलेखानी–काठमाडौ सुरुङमार्गको निर्माण गर्ने भनेर उद्घोष गर्नु लाजमर्दो भएको बताउनुभयो ।
सो ज्ञापन पत्र बुझ्दै नेकपा माओवादी केन्द्र मकवापुरका अध्यक्ष पुलामीले सुरुङ मार्ग पनि नबन्ने र जनताको रकम पनि नउठ्ने वातावरण बनेको बताउनुभयो । उहाँले व्ययभारको हिसावले र फास्ट ट्रयाक तथा अन्य सडकको कारण पनि अब सुरुङ मार्गको सान्दर्भिकता समाप्त भएको बताउनुभयो । कम्पनी ऐक्ट अनुसार पैसा पाउने सम्भावना कम भएको बताउनुभयो । यद्यपी उहाले आफु जनताको लगानी डुब्न नहुने र जनताको लगानी फिर्ता हुनुपर्ने पक्षमा रहेको बताउनुभयो ।
२०७० कात्तिक २५ गते नेपाल पूर्वाधार कम्पनीले काम सम्पन्न गर्ने गरी हेटौडा–भिमफेदी–कुलेखानी–काठमाडौ सुरुङ मार्गको सिलान्यास गरेकोमा त्यसको ८–९ बर्ष पुगीसक्दा पनि अझै निर्माणका लागि केही काम शुरु नगर्दासमेत सरकार मुकदर्शक बनेकोले जनताको २३ करोडभन्दा धेरै रकम फसेको छ । साथै नेपाल पूर्वाधार बिकास कम्पनीले सुरुङमार्ग निर्माण गर्न सबैलाई सेयर लगानी गर्न गरेको आग्रहबाट मकवानपुरका तत्कालिन जिबिस, हेटौडा उपमहानगरपालिका, मकवानपुर उद्योग बाणिज्य संघलगायत बिभिन्न संघ–संस्था र धेरै जनताको लगानी परेको छ ।