हेटौंडा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङ माथि निष्पक्ष र विश्वसनीय छानबिन गर्न सरकारसँग माग गरेको छ । गृहमन्त्री सुधन गुरुङको शंकास्पद शेयर कारोबारबारे खुलासा भएपछि कांग्रेसले यस्तो माग गरेको हो । पार्टी प्रवक्ता देवराज चालिसेले आज एक विज्ञप्ति जारी गर्दै गृहमन्त्री गुरुङमाथि विभिन्न प्रश्न उठेको भन्दै छानबिनको माग गरेका हुन् ।
कांग्रेसले नैतिकता र स्वच्छ राजनीतिलाई संस्थागत गर्ने आफ्नो प्रयास कुनै व्यक्ति वा दल विशेषविरुद्ध नभई समग्र राजनीतिक संस्कार सुधारतर्फ केन्द्रित रहेको स्पष्ट पारेको छ ।
यसैबीच, गृहमन्त्रीसँग जोडिएको पछिल्लो प्रकरणले राजनीतिक नैतिकता र पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको उल्लेख गर्दै पार्टीले उक्त विषयमा स्वतन्त्र र प्रभावरहित अनुसन्धानको आवश्यकता औंल्याएको छ । पदमा रहँदा अनुसन्धान प्रक्रियामा प्रभाव पर्ने आशंका रहने भएकाले निष्पक्ष वातावरण सुनिश्चित गर्नुपर्ने कांग्रेसको धारणा छ । कांग्रेसले अप्रत्यक्ष रूपमा गृहमन्त्रीको राजीनामा मागेको हो ।



















