
हेटौँडा/ बागमती प्रदेशमा ई सेवाबाट सवारी कर तिर्न मिल्ने व्यवस्थाको सुरुवात गरिएको छ।अब बागमती प्रदेशमा दर्ता भएका सबैखाले सवारीसाधनको राजश्व तथा सवारी कर,सवारी दर्ता तथा नवीकरणको शुल्क ईसेवामार्फत् तिर्न मिल्ने भएको हो। बागमती प्रदेश सरकार र ईसेवाको सहकार्यमा सवारीसाधनको कर,दर्ता र नवीकरण अनलाइनबाट गर्न सकिने सेवा सुरु गरिएको हो।
ईसेवा मार्फत भुक्तानी गर्न मिल्ने भएपछि अब सवारीसाधनको कर तिर्न, सवारी दर्ता तथा नवीकरण तथा विमाको भुक्तानी गर्न यातायात कार्यालयमा लाइन बस्नुपर्ने व्यवस्थाको अन्त्य हुनेछ।
दुईपांग्रे,चारपांग्रे,ठूला तथा हेवी सवारी, निजी तथा सार्वजनिक कुनै किसिमका सवारीसाधनको कर, दर्ता र नवीकरण ईसेवाबाट गर्न सकिनेछ । इसेवा एकाउन्ट भएका प्रयोगकर्ताले आफ्नो मोबाइलबाट कर भुक्तानी, दर्ता र नवीकरण गर्न सकिन्छ भने ईसेवा एकाउन्ट नभएका ग्राहकले नजिकको ईसेवा जोन तथा पाइन्टबाट सेवा लिन ईसेवाका प्रमुख रणनीतिक अधिकृत रोशन लामिछानेले जानकारी दिएका छन।

