एमाले महाधिवेशनमा मकवानपुरबाट १८ जना प्रतिनिधि

हेटौडा टुडे
२५ कार्तिक २०७८, बिहीबार ०९:३४

हेटौँडा/ नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा मकवापनुरबाट १८ जना प्रतिनिध बनेर जाने भएका छन् । प्रतिनिधि सभा क्षेत्र नम्बर १ र २ बाट १८ जना जाने भएका हुन् । मकवानपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ र २ बाट ९/९ जना प्रतिनिधि बनेर महाधिवेशनमा जाने एमाले मकवानपुरका सचिव एकलाल श्रेष्ठले जानकारी दिनुभयो । दुबै निर्वाचन क्षेत्रबाट एक/एक जना दलित प्रतिनिधिसहित ९/९ जना प्रतिनिधि चयन हुनेछन् ।

प्रतिनिधिको छनौट पर्सी शनिबार हुनेछ । आज बिहीबार सहमति भए शनिबार महाधिवेशन प्रतिनिधि बनेर जानेहरुको नाम शनिबार घोषणा हुनेछ । सहमति हुन नसके आज बिहीबार उम्मेदवारी मनोनय दर्ता हुने र शनिबार प्रतिनिधि बन्न चुनाव हुने एमाले मकवानपुरका अध्यक्ष बद्रि लम्सालले बताउनुभयो । सहमति हुन नसके निर्वाचनबाट प्रतिनिधि चयन गर्ने एमाले मकवानपुरले तयारी समेत गरेको छ ।

मकवानपुरमा २ वटा प्रतिनिधी सभा क्षेत्र रहेको छ । दुवै निर्वाचन क्षेत्रमा छुट्टाछुट्टै निर्वाचन कमिटी तयार गरिएको छ । यस्तै दलित प्रतिनिधि छनोटका लागि समेत छुट्टै निर्वाचन कमिटी बनाइएको छ । निर्वाचन क्षेत्र नम्बर १ मा एमाले नेता देवराज रिमाल प्रमुख निर्वाचन अधिकृत रहनेगरी ३ सदस्य निर्वाचन कमिटी गठन भएको छ । यस्तै निर्वाचन क्षेत्र नम्बर २ मा अधिवक्ता मुकुन्द अधिकारी प्रमुख निर्वाचन अधिकृत हुने गरी ३ सदस्यीय कमिटी गठन भएको छ ।

आउँदो मंसिर १० गते चितवनको नारायणी नदी किनारमा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको १० औं महाधिवेशनको उद्घाटन गर्नुहुनेछ । यस्तै ११ गते निर्वाचन हुने र मंसिर १२ गते निर्वाचन परिणाम सार्वजनिक गरिनेछ । एमालेको बन्द सत्र भने चितवनको सौराहामा हुनेछ । देशभरबाट १ हजार ९ सय ९९ जना प्रतिनिधि सहभागी हुनेछन् । एमालेको महाधिवेशनमा झण्डै ५ लाख मानिसहरुको सहभागिता रहने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*