चेपाङ बाहुल्य क्षेत्रमा कोभिड खोप अभियान प्रभावकारी बनाउन छलफल

हेटौंडा टुडे
३० पुष २०७८, शुक्रबार २०:१२

हेटौंडा । चेपाङ बाहुल्य क्षेत्रमा कोभिडविरूद्धको खोप अभियान प्रभावकारी बनाउन बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले छलफल गरेका छन् । मन्त्रालयमा शुक्रबार मकवानपुरका चेपाङ बाहुल्य क्षेत्रका प्रतिनिधिहरूसंग कोभिड खोप अभियान प्रभावकारी बनाउन छलफल गरेका हुन् ।
उनले चेपाङ बाहुल्य क्षेत्रमा खोप लगाउने दर कम रहेकाले खोप अभियानलाई प्रभावकारी बनाउन सहकार्यका लागि आग्रह गरेका छन् । उनले कोरोनाको जोखिम न्यूनीकरणका लागि खोप अत्यावश्यक रहेकोले खोपबारेको भ्रम हटाउन त्यस क्षेत्रका नागरिक समाज, जनप्रतिनिधि, सामाजिक अगुवा लगायतले अभियानको महत्वबारे प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए । प्रदेश सरकार खोप लिएर समुदाय तहमै पुग्न तयार रहेकोले चेपाङ बाहुल्य क्षेत्रमा सबैको सहयोगमा लक्ष्यमा पुग्ने उनले विश्वास व्यक्त गरे ।
कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङले चेपाङ बाहुल्य क्षेत्रमा गाउँपालिकास्तरमा स्वास्थ्य शिविर गर्ने, चर्चमा खोप अभियान चलाउने, खोपको सकारात्मक पक्षबारे प्रचारप्रसारमा जोड दिने, विपन्न चेपाङफ तामाङ र दलित बर्गलाई लक्षित गरेर सहयोग अभियानसहित खोप अभियान चलाउने जस्ता काम गरेर खोप अभियानलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।
संविधानसभा सदस्य गोबिन्दराम चेपाङले त्यस क्षेत्रमा चेतनाको अभाव र खोपबारे नकारात्मक प्रचार रहेकाले यसलाई चिर्दै खोप लगाउने दरले बढाउन आफुहरूले सहजिकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । चेपाङ संघका केन्द्रीय सदस्य खेम चेपाङले खोप लगाउने दरलाई चेपाङ समुदायमा बढाउन आफुले संघका सबै जिल्लाका इकाईमार्फत सहजिकरण गर्ने बताए । उनले बिद्यालय, चर्च, स्वास्थ्य इकाई, वडा कार्यालय, चर्च जस्ता स्थानमा अभियान चलाउनुपर्नेमा जोड दिए ।
छलफलमा चेपाङ संघ मनहरीका अध्यक्ष प्रकाश चेपाङ,
मनहरी गाउँपालिका ख्रिष्टियन समाजका सचिव बिष्णु मोक्तान, चेपाङ संघ राक्सिराङ अध्यक्ष सोम चेपाङ लगायतले अभियानलाई सफल बनाउन आफुहरूले समुदाय तहसम्म सकारात्मक प्रचारप्रसार गरि सहयोग गर्ने बताए ।
छलफलमा चेपाङ, तामाङ र ख्रिष्टियन समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । बागमती प्रदेशका चेपाङ बाहुल्य क्षेत्रमा कोभिड-१९ विरूद्धको खोप लगाउने दर कम पाइएपछि मन्त्री लामाले त्यस समुदाय र क्षेत्रका अगुवाहरूसंग छलफल थालेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*