हेटौंडा । बागमती प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्री बसुन्धरा हुमागाँईले प्रदेश सरकार किसानको हितको पक्षमा रहेको बताएका छन् । बिन्दाबासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहासञ्चार ९९।६ हेटौंडाको वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रमको चौथो दिन बुधबार आयोजित दुग्ध उत्पादन क्षेत्रको अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री हुमागाँईले यस्तो बताएका हुन् । उनले प्रदेश सरकार किसानको हितको पक्षमा रहेको भन्दै कृषिलाई व्यवस्थित गर्दै कृषकको विकासको लागि लागिपरेको बताए । मन्त्री हुमागाँईले पहुँचको आधारमा सरकारले अनुदान नदिने भन्दै प्रदेश सरकारले वास्तविक किसानसम्म अनुदान पुर्याउने समेत बताए । उनले सहज ढंगले किसानले अनुदान,सहुलिलयतपुर्ण ऋण पाउने व्यवस्था मिलाउने भन्दै किसानको हक अधिकारको लागि आफू सदैव तत्पर रहेको बताए । कार्यक्रममा किसानहरुले गाई वस्तुलाई खुवाउने खाद्यान्नको मुल्य आकाशिदा दुधको मुल्य थोरै मात्रै बढेको र बढेको मुल्य पनि किसानलाई भन्दा धेरै बिचौलियालाई पोस्न खोजिएको गुनासो गरेका थिए । कार्यक्रममा रेडियो थाहासञ्चारको प्रवन्धक अरुणराज सुमार्गीले किसान बलियो भए मात्रै देशको अर्थतन्त्र बलियो हुने भन्दै कृषि क्षेत्रको विकासमा सरकारले ध्यान दिनुपर्ने बताए । मनकामना दुग्ध उत्पादक सहकारी सस्था प्रालिका अध्यक्ष अर्जुन दाहालको सभाध्यक्षातामा भएको कार्यक्रममा प्रदेश सहकारी विकास बोर्डको उपाध्यक्ष नारायण देवकोटा,मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाँई, जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरका अध्यक्ष बासुदेब अधिकारी,गढी गांउपालीका वडा नम्बर ३ का वडा अध्यक्ष भागवत घिमिरे , श्रमिक साना किसान कृषि सहकारी सस्थाका अध्यक्ष निर्मला लम्साल , वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघ केन्द्रिय अध्यक्ष रोमलाल गिरी र केन्द्रिय उपाध्यक्ष तथा सय किसान अभियानको अभियान्ता राजेन्द्र खनाल लगायतले मन्तव्य व्यत्त गरेका थिए ।
यस्तै रेडियोले कार्यक्रमको चौथो दिन भोली सडक दुर्घटना न्युनिकरण नहुनुमा जिम्मेवारी कसको भन्ने विषयमा मा।वि स्तरीय वक्तृत्वकला कार्यक्रम गर्ने रेडियोको स्टेसन म्यानेजर मणिराज गौतमले जानकारी दिनुभएको छ । ६ गते कोरोना रोकथाम तथा नियन्त्रणमा सरोकारवालाहरुको भुमिका विषयक अन्तरिक्रिया हुनेछ भने अन्तिम दिन ७ गते थाहा सम्मान तथा १४ औ वार्षिकोत्सव समापन समारोह एवम् साहित्य सम्मेलन हुने छ । कार्यक्रमको पहिलो दिन आईतबार पर्यावरण प्रवद्र्वनको लागि रेडियोले साइकल ¥याली गरेको थियो भने कार्यक्रमको दोस्रो दिन सोमबार रेडियोले बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।यस्तै हिजो रुपचन्द्र विष्ट र अहिलेको राजनीतिक परिवेश विषयक अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।


















