शनिबार रेडियो मकवानपुरको तीज विशेष कार्यक्रम हुने, जागरुक महिला सम्मान गरिने

हेटौंडा टुडे
२०७९ भाद्र ९, बिहीबार १६:५१ गते

हेटौंडा ।  हेटौंडाकै पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुरले गत बर्षहरुमा झैं हरितालिका तीजको अवसरमा यही ११ गते शनिबार जागरुक महिला सम्मान तथा तीज विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । रेडियोले स्थापनाकालदेखि नै तीजको सन्दर्भमा मकवानपुरका २ अग्रज महिलालाई सामुदायिक सम्मान प्रदान गर्दै आएको छ ।

यस बर्षपनि मकवानपुरमा रहेर समाजमा विभिन्न योगदान पु¥याएका दुईजना महिलालाई जनही नगद १० हजार रुपैयाँसहित सम्मान गरिने रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आन्दराम पराजुलीले जानकारी दिए । ‘यही ११ गते शनिबार बिहान ११ बजेबाट हेटौंडाको रोयल पार्टी प्यालेसमा रेडियोको कार्यक्रम हुनेछ’, अध्यक्ष पराजुलीले भने, ‘लक्की ज्वेलर्सको मुख्य प्रायोजनमा हुने सम्मान तथा तीज विशेष सांस्कृति कार्यक्रममा बैंङ्किङ पार्टनर ज्योति विकास बैंक, डिजिटल पार्टनर सिजी डिजिटल रहेका छन् ।’

रेडियो मकवानपुरको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका संरक्षक एवम् नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा मकवानपुरका राजनीतिक दलका प्रमुख प्रतिनिधि, जनप्रतिनिधि सहित सहयोगी संस्थाका प्रमुख प्रतिनिधिहरुको आतिथ्यता रहनेछ । कार्यक्रममा सहभागीताका लागि रेडियोले सार्वजनिक रुपमा आव्हान गरेको छ । ‘हामीले स्थापनाकालदेखि नै तीजमा दुई अगुवा महिलालाई जागरुक महिला सम्मान र बार्षिकोत्सवमा दुईजनालाई सामुदायिक सम्मान प्रदान गर्दै आएका छौं’, रेडियो मकवानपुरका प्रबन्ध निर्देशक आशिष दुलालले भने, ‘सामुदायिक रेडियो हुनुको नाताले समाजमा राम्रा काम गरिहेकाहरुलाई सम्मान गर्नु र वहाँहरुको उजागर गर्नु हाम्रो दायित्व हो ।

मकवानपुरबासीकै लागि आयोजित कार्यक्रम भएकोले सहभागिताको निम्ति म सबैलाई अनुरोध गर्न चाहन्छु ।’ कार्यक्रममा यस बर्षको तीजको सर्वाधिक लोकप्रिय गीत ‘पावैमा पाउजु छैन बरीलै….’ की गायिका स्वस्तिका ढकाल, सुनिता शर्मा लुईंटेल सहित स्थानीय कलाकारहरुको प्रश्तुती रहनेछ । लक्की ज्वेलर्सको तर्फबाट कार्यक्रममा सहभागीमध्ये ३ जनाले लक्की ड्र मार्फत सुनको चन्द्रहार, सुनको चन्द्रमा र चाँदीको पाउजु प्राप्त गर्नेछन् भने कार्यक्रममा सबैभन्दा राम्रो नृत्य गर्ने एकजनाले पनि चाँदीको पाउजु पाउनेछन् । जागरुक महिला सम्मानको लागि रेडियो मकवानपुर सञ्चालक समितिले छनौट समिति समेत बनाएको छ । रेडियो मकवानपुरले यसअघि २२ जनालाई जागरुक महिला सम्मान र २४ जनालाई सामुदायिक सम्मान प्रदान गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*