साईबर अपराधबाट बच्न जिल्ला प्रहरी कार्यालय मकवानपुरको आग्रह

हेटौंडा टुडे
२०७९ चैत्र १, बुधबार १३:३५ गते

हेटौंडा |दैनिकजसो साईबर अपराध बढ्न थालेपछि त्यस्ता घटनाबाट जोगिन र सचेत हुन जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुरोध गरेको छ । पछिल्लो समय फेसबुक एकाउन्ट ह्याक गर्ने, फेक आइडी बनाएर नजिकको साथीसंग मोबाईल नम्बरमा आएको कोड प्रयोग गरी ई-सेवा, फोन -पे जस्ता एप मार्फत पैसा पठाउन लगाएर ठगी गर्ने कार्य भइरहेकाले त्यस्ता कार्यबाट जोगिन प्रहरीले अनुरोध गरेको हो ।

मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी टेक बहादुर कार्कीले केहि व्यक्तिले ठगी गर्ने हेतुले अन्य व्यक्तिको पसलको फोटो सामाजिक सञ्जाल फेसबुक पेजमा राखी आईफोन तथा अन्य सामानहरु सस्तो दरमा दिन्छु भनि रकम पठाउन लगाई ठगी गरेको उजुरी प्राप्त भएको जानकारी दिनुभयो । उहाँले त्यस्ता प्रकृतिका म्योसेजहरु चिनेजानेकै व्यक्तिहरुबाट आएपनि कल, भिडियो कल गरेर एकिन भएपश्चात मात्र आर्थिक कारोबार गर्न अनुरोध गर्नुभयो ।

यस्तै दैनिक रुपमा नचिनेको मोबाईल फोन वा ह्वाट्स एप मार्फट फोन कल गर्ने, जसलाई फोन गर्ने हो उसको सम्पूणर् डिटेल लिएर फोन मार्फत चिने जस्तै गरी जानकारी गराउने र साथी बनेर केही समय कुरा गरे पश्चात चिने जस्तै गरी जानकारी गराउने र साथी बनेर केही समय कुरा गरेपश्चात म संग अमेरिकन डलर छ, सस्तो दरमा साटी दिनुपर्‍यो भनि लोभ-लालच देखाएर ठग्ने प्रवृत्ति बढेकाले त्यस्तो ठगीबाट जोगिन मकवानपुर प्रहरीले अनुरोध गरेको छ ।

ह्वाट्स एपमा नचिनेको ब्यक्तिबाट साथी बन्न रिक्वेष्ट पठाउने, ग्रुप कलमा जोडाउने, ह्वाट्स एप र मेसेन्जरमा भिडियो कल गरी यौनजन्य गतिबिधिमा संलग्न गराउने, कल गर्ने व्यक्तिलाई थाहै नदिई स्क्रिन रेर्कड गर्ने र उक्त स्क्रिन रेकर्ड भिडियो अर्को दिन पठाई ब्ल्याकमेल गरी भारतीय सीमामा आई नगद रुपैयाँ पठाउन अनुरोध गर्ने र नगद नपठाएमा भिडियो निजिकको साथी तथा आफन्तलाई पठाईदिन्छु भनि धम्की दिने र सेयर समेत गरिदिएको उजुरी प्राप्त भएको पनि प्रहरीले जनाएको छ ।

डिएसपी कार्कीले नचिनेको ह्वाट्स एप र मेसेन्जरबाट आएको कल, भिडियो कल रिसिभ नगर्न तथा विभिन्न प्रलोभन र संभावित ठगी हुनबाट जोगिन उहाँले सबैलाई आग्रह गर्नुभयो । त्यस्ता संभावित घटनाहरु हुन अगावै वा भएको भएको खण्डमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आएर खबर गरिदिन समेत आग्रह गर्नुभयो ।

साथै डिएसपी कार्कीले उक्त साईबर सम्बन्धी घटना हुन नदिन जिल्ला प्रहरी कार्यालय मकवानपुरको फोन नम्बर १००, ९८५५०९०१५० र ९८५५०९०६२२ सम्पर्क गरेर जानकारी गराउन पनि नागरिकममा अनुरोध गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*