हेटौंडा | हेटौंडाबाट काठमाडौं जोड्ने दुई सडकखण्डमा पहिरोका कारण अवरुद्ध बनेको यातायात सुचारु भएको छ । हेटौंडा–काठमाडौं कान्तिलोकपथ अन्तर्गत भट्टेडाँडामा पहिरो खस्दा अवरुद्ध बनेको यातायात आज दिउँसोबाट सुचारुमा आएको मकवानपुर प्रहरीले जनाएको छ ।
बुधबार साँझ परेको वर्षाको कारण सडकमा पहिरो खस्दा यातायात अवरुद्ध भएको थियो । पहिरो पन्छाएसँगै सडक सुचारु भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
यस्तै, हेटौंडाबाट काठमाडौं जोड्ने छोटो दूरीको कुलेखानी–सिस्नेरी सडकखण्डमा आज बिहान खसेको पहिरोका कारण अवरुद्ध बनेको यातायात अपराह्नबाट सुचारुमा आएको छ ।
बिहीबार बिहान ५ बजेको समयमा सडकमा पहिरो खस्दा केही समय यातायात अबरुद्ध भएको थियो । पहिरोबाट कुनैपनि क्षति भने नभएको मकवानपुरका प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।






















