हेटौंडा । हेटौडा उपमहानगरपालिका वडा नम्बर ५ को सहयोगमा पिप्ले शहरी केन्द्रले वडाका विभिन्न ६ वटा केन्द्र मार्फत जनता घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । असारको १ गते शुरु भई ७ गते सम्पन्न कार्यक्रममा एक हजार ४४ जनाको स्वास्थ्य परीक्षण गरिएको हो ।
पिसाबमार्फत गरिएको परीक्षणमा मृगौलाको कार्य अवस्था, पिसावको गुणस्तर र ग्लुकोजको मात्राको अवस्था परीक्षण गरिएको थियो । प्रोटिन जाँचमा ७ जनामा सामान्य समस्या, ३ जनामा न्यून समस्या र १ जनामा मध्यम समस्या भेटिएको छ । एज परीक्षणमा १५ जनामा सामान्य समस्या तथा ग्लुकोज परीक्षणमा १८ जनामा सामान्य समस्या, १३ जनामा न्यून समस्या, २६ जनामा केही समस्या र ६ जनामा मध्यम समस्या पाइएको संस्थाकी प्रमुख दुर्गा दाहालले जानकारी दिइन् । उनका अनुसार रक्तचापको समेत जाँच गरिएको अभियानमा सबै सेवाग्राहीहरुलाई आवश्यक परामर्श गरिएको छ ।
स्वास्थ्य केन्द्रले यस अघि विद्यालयमा किशोरीहरुलाई किशोरावस्थाको स्वास्थ्यबारे अभिमुखिकरण कार्यक्रममार्फत वडाका ८ विधालयका ४ सय छात्राहरुलाई प्रशिक्षित गरेको थियो ।